कृष्णपुर नगरपालिकाद्वारा आफ्नै पाठ्यक्रम पढाउन शुरु
2023/09/27, 6:50
 
ss

कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यक्रममा आधारित पुस्तक “हाम्रो कृष्णपुर” पठनपाठन शुरु गरेको छ। बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले कृष्णपुर नगरपालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो कृष्णपुर” हस्तान्तरण गरेका हुन ।


एक सय पुणाङ्कको उक्त “हाम्रो कृष्णपुर” पुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले अनिवार्य पढनुपर्नेछ । कञ्चनपुर जिल्लामा कृष्णपुर नगरपालिका स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन शुरु गर्ने पहिलो पालिका बनेको छ। पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिका बारे अझ राम्रोसँग जान्न र बुझ्न यो “हाम्रो कृष्णपुर” पुस्तकले थप टेवा पुग्ने बताएका छन। उनले लामो समयको मिहिनेत पश्चात यो पुस्तकले आकार पाएको भन्दै आगामी दिनमा थप यसलाई अझ परिष्कृत गरेर लैजाने बताए ।

नगरप्रमुख हेमराज ओझाले “हाम्रो कृष्णपुर” पुस्तक तयार गर्न सामुदायिक विद्यालयका थुप्रै शिक्षक र कृष्णपुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु दत्त भट्ट ज्यूको अत्यन्तै ठूलो भूमिका रहेको भन्दै उनीहरुलाई धन्यवाद व्यक्त गरे । कृष्णपुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले तयार गरेको उक्त “हाम्रो कृष्णपुर” पुस्तक प्रकाशनमा वल्र्ड भिजन इन्टरनेसनल पाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले आर्थिक सहयोग गरेको हो ।