डडेलधुरामा मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु
2023/09/27, 6:54
 
dd

डडेलधुरा मेडिकल कलेजले मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु गर्ने भएको छ । स्थापना भइरहेको डडेलधुरा मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको छ।

सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो ।डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो। त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले जानकारी दिए।

अब आयोगले आउँदो कार्तिक १८ गते प्रवेश परीक्षा लिने र त्यसपछि विद्यार्थी पढाउने जानकारी प्राप्त भएको ओझाले बताए। माघदेखि कक्षा सञ्चालनको तयारी छ।आयोगले यसअघि डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो। सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेलधुरा मेडिकल कलेजमार्फत पाँच वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो।


‘ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डडेलधुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो । तर अहिले एउटा पाइएको छ। यो पनि उपलब्धि हो।’

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेलधुराको अमरगढी नगरपालिका–८ स्थित कीर्तिपुर नजिक ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। हाल त्यहाँ मेडिकल कलेज भवन निर्माणको बोर्ड लगाइएको छ। यस्तै डडेलधुरा अस्पतालका नाममा १५३ रोपनी जमिन छ भने अस्पतालसँगै जोडिएको १९१ रोपनी जमिन कलेज सञ्चालन गर्न भोगाधिकार प्राप्त भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेलधुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ। भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ।