कृषि बीमा गराउन सुदूरपश्चिममा तीन वटा बीमा कम्पनी खटाइयो
2023/10/03, 2:12
 
ss

सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि सुदूरपश्चिमका नौ जिल्लामा तीन वटा बीमा कम्पनीलाई खटाएको छ। कृषि तथा पशुपन्छीको बीमा गर्ने अन्य बीमा कम्पनी भए पनि जिल्लामा अनिवार्य कृषि बीमा गर्न सूचीकृत भएका कम्पनीले बीमा नगरे सरकारले कारबाही गर्न सक्छ।

सुदूरपश्चिमका किसानले कृषि बीमा गर्न चासो नदिएको भए पनि सरकारले भने कैलाली, बझाङ  र डोटीमा कृषि बीमा गर्न राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई जिम्मेवार दिएको छ। त्यस्तै अछाम र बाजुरामा युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र दार्चुला, बैतडी, डडेल्धुरा तथा कञ्चनपुरमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिम्मेवारी दिइएको छ।

जिल्लामा कृषि तथा पशुपन्छी बीमा गर्न तोकिएका यी कम्पनीले किसानले कृषि तथा पशुपन्छी बीमा गराउन आए गर्दैन भन्न पाउदैनन्। तर, किसानहरूमा बीमा सम्बन्धि ज्ञान र बीमा गर्दाका फाइदा बारे जानकारी नहुँदा कृषि बीमा गराउने किसानको संख्या भने निकै न्युन रहेको नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हृदय पण्डितले बताए।

‘सरकारले कृषि बीमा गर्न किसानलाई प्रिमियमको ८० प्रतिशत अनुदान दिने गरेको छ भने प्रदेश सराकारले थप २० प्रतिशत अनुदान दिने व्यवस्था छ,’ उनले भने, ‘किसानले सित्तैमा कृषि तथा पशुपन्छी बीमा गर्न पाउने सरकारी नीति भएर पनि बीमा गर्न किसान भने आकर्षित हुन सकेका छैनन्। किसानको आकर्षण बढाउन स्थानीय सरकारले सहयोग गर्न सक्छन्।’

सरकारले कृषि तर्फ तरकारी खेती, धान खेती, चैतेधान बाली, फलफूल खेती, आलु खेती, केरा खेती, मौरी पालन, अन्न बीउ बाली, च्याउ खेती, अलैंची खेती, अदुवा खेती, बेसार खेती, सुन्तला, जुनार, कागती, चिया, कफी, उखु र घाँसे बालीमा बीमा गर्ने नीति लिएको छ। यसैगरी, किसानले पशुपन्छीतर्फ पशुधन बीमा, बाख्रा बीमा, पन्छी बीमा अष्ट्रिच बीमा, कालिज बीमा र माछा बीमा गर्न पाउँछन्।