‘म आउँदासम्म छोरी छोडेर कतै नजानु होला’ गंगाले पति प्रविणलाई सम्झाउँदै भनिन्, ‘बुवालाइ औषधी पनि खुवाउनु छ । नबिर्सनु होला । म बाख्रा लिएर छिट्टै फर्कन्छु ।’ गौरीगंगा ३ का प्रविण महराले बाख्रा लिन गएकी श्रीमती गंगाको प्रतिक्षा गरेको ५ वर्ष बितिसक्यो । बाख्रा त त्यसै दिन घर फर्के तर गंगाको भने अहिलेसम्म अत्तोपत्तो छैन । उनले छोडेर गएकी छोरी पनि आमा खोज्दा खोज्दै ८ वर्षकी भइसकेकी छ ।
प्रविणका इष्ट मित्र, छिमेकी, चिनजानका साथीभाइदेखि प्रहरी र बेपत्ता महिला सम्बन्धि काम गर्ने संघसंस्था सबैले यो बिचमा गंगाको खोजी गरे । तर गाउँ नजिकैको खोलामा बाख्रा लिन गएकी २६ वर्षीया गंगाको ०७५ चैतदेखि अहिलेसम्म अत्तोपत्तो छैन ।
एकाएक कहाँ हराइन त गंगा रु यसको उत्तर कसैसंग छैन । घर परिवारबाट छोरीलाइ कुनै समस्या थिएन । गंगाकी आमा कैलाली गोदावरीकी धनसरा साउंदले भनिन्, ‘मेरी छोरी आत्महत्या गर्ने, परपुरुषसंग भागेर जाने खाले होइन । उसंग केही न केही गलत भएको हुनुपर्छ ।’
१६ वर्षीय मधु केसी दुइ वर्षअघि एसईईको रिजल्ट आएकै दिनदेखि बेपत्ता छिन् । लम्कीचुहा नगरपालिका लम्कीकी मधुको पनि निकै खोजी भयो । नेपालमा मात्र होइन भारतका विभिन्न सहरमा पनि भारतीय प्रहरीको सहयोगमा उनको खोजी भयो ।
भारतको पलियाको सरकारी विद्यालयमा अध्यापन गर्ने उनका काका हरि केसीले भारतीय प्रहरीको सहयोगमा भारतका विभिन्न ठाउँमा खोजतलास गर्दा पनि उनको पत्तो लागेन । अन्तिम पटक उनीसंगै पढ्ने साथीले लम्की बजारमा भेटेपछि अहिलेसम्म मधुको पनि अत्तोपत्तो छैन ।
कञ्चनपुरको वाणीमा रहेको शिखर होटलमा काम गर्ने बब्लुलाइ आफ्नो घर, ठेगाना, थर केही पनि थाहा छैन । उनी १५ वर्षदेखि वाणीमा छन् । सानो उमेरमा बेपत्ता भएका बव्लुको उमेर अहिले २१, २२ वर्ष भयो होला । उनी छारे रोगबाट पीडित छन् । शिखर होटलका मालिक गणेश साउँद भन्छन, ‘होस न फर्कंदै उनी बेपत्ता भए जस्तो छ । उनको बब्लु नाम पनि वाणीमै आएपछि राखिएको हो ।’ मलाइ कुनै सम्झना छैन बब्लु भन्छन्, ‘गाउँ, बुवा, आमा, नाम, थर अलिकति पनि सम्झना भए खोजी गर्थे । अब मेरो गाउँ घर यही होटल हो ।’ उनी होटल मालिककै घरलाइ आफ्नो घर ठान्छन । चाडपर्व पनि उनकै घरमा मनाउँछन् । होटल मालिक साउँद पनि बब्लुलाइ आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्छन ।
गंगा, मुधु र बब्लु जस्तै गाउँघरबाट एकाएक बेपत्ता हुनेको सुदूरपश्चिममा निकै ठूलो संख्या छ । प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्र यो संख्या हजारौंमा रहेको प्रहरी तथ्यांकले देखाउँछ । बेपत्ता हुनेमा महिलाको संख्या निकै बढी रहेको छ । कैलालीबाट ३ वर्षमा बेपत्ता भएका २ हजार मध्ये १ हजार २ सय ३९ जना महिला मात्र छन् । बेपत्ता महिलामध्ये पनि १८ वर्ष मुनिका ४ सय ६० जना किशोरी रहेका छन् भने २ सय २३ बालक छन् । गत आर्थिक वर्षमा सवैभन्दा बढी ७ सय ३३ जना महिला कैलालीबाट मात्र बेपत्ता भएको उजुरी प्रहरीमा छ ।
कञ्चनपुरमा ३ वर्षमा बेपत्ता हुनेको संख्या १ हजार भन्दा बढी छ । जसमा ९ भन्दा बढी महिला र बालबालिका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार हरेक वर्ष बेपत्ता हुनेको संख्यामा बृद्धि भएको देखिन्छ । भेटिने क्रम पनि छ तर बेपत्ता हुनेमध्ये सम्पर्कमा आउने पुरुष बढी छन् भने महिला र बालबालिकाको संख्या निकै कम देखिन्छ । महिलामा पनि किशोर उमेरका बेपत्ता हुनेको संख्या निकै बढी रहेको छ । प्रहरीको तथ्यांकले बेपत्ता हुनेमध्ये ८० प्रतिशतभन्दा बढी १२ वर्षदेखि ४० वर्ष सम्मका रहेको देखाउँछ ।
महिला बालबालिकाका क्षेत्रमा सीमा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको पनि बेपत्ता हुने मध्ये अधिकांशको उमेर समूह प्रहरीको तथ्यांक संग मिल्छ । ‘४० वर्ष माथिका बेपत्ता हुने थोरै छन्,’ कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र पाल भन्छन्, ‘मानसिक समस्या भएका, घरपरिवारबाट बिरक्त भएर हिडेका, कतै हत्या भएर बेपत्ता भएका, केही महिला चाँहि ४० को उमेरपछि पनि दोस्रो लोग्ने खोजेर बेपत्ता भएका घटनाबाहेक अधिकांश ४० मुनीकै बेपत्ताको सुचिमा देखिन्छन् ।’
तराइका कैलाली कञ्चनपुर मात्र होइन प्रदेशका ७ वटा पहाडी जिल्लाबाट बेपत्ता हुनेमा पनि महिला र बालबालिका नै बढी छन् । डडेल्धुरामा तीन वर्षमा बेपत्ता भएका २ सय २६ मध्ये दुई जना जेष्ठ नागरिकबाहेक सबै महिला र बालबालिका मात्र छन् । अन्य जिल्लाको तथ्यांक पनि यस्तै छ ।
किन हुन्छन् बेपत्ता
मानसिक सन्तुलन गुमाएर, प्रेम सम्वन्धमा परेर, घरपरिवारमा हुने कलह, साथीभाइको लहलहैमा लागेर, अपहरणमा परेर र बालबालिका चोर्ने गिरोहको फन्दामा परेर अधिकांश बेपत्ता हुने प्रहरीको अनुमान छ । तर यस विषयमा बिस्तृत अध्ययन भने अहिलेसम्म हुन सकेको छैन । कैलालीका प्रहरी उपरिक्षक पाल भन्छन्, ‘खुला सिमाना, सामाजिक संजालको दुरुपयोग, अभिभावकको लापरवाही, घरायसी हिंसा, प्रेम विवाह, अवैध यौन सम्वन्ध महिला र किशोरी वेपत्ता हुने प्रमुख कारणका रुपमा देखिएका छन् ।’ कैलालीका गत आर्थिक वर्षमा बेपत्ता भएका महिलामध्ये अधिकांश किशोरी देखिएका छन् ।
‘सामाजिक परिवर्तन गलत दिशातिर जान थालेपछि बेपत्ता हुने कारण पनि बढेका छन्,’ माइति नेपालका एकजना अधिकारी शिवचरण चौधरी भन्छन्, ‘विद्यालय उमेरमै प्रेम सम्बन्ध राख्ने, लहलहैमा घर छोड्ने र घरबाट निस्की सकेपछि दलालको फन्दामा परेर बेपत्ता हुने बढी घटना देखिएका छन् ।’ कम उमेरका किशोरहरु भने पढाइ छोडेर रोजगारीका लागि अभिभावकको सिको गर्दै भारत जाने र उतै बेपत्ता हुने क्रम बढी रहेको उनले बताए । चौधरीले भने, ‘घरबाट भागेर भारत छिरेपछि लामो समयसम्म सम्पर्कमा नआउनेहरु बेपत्ताको सूचीमा बढी देखिएका छन् ।’ बालबालिका सम्बन्धि काम गरिरहेको संस्था सिवीनका कार्यक्रम अधिकृत हरिराम चौधरी अभिभावकको लापरवाही नै बालबालिका हराउने प्रमुख कारण भएको बताउँछन ।
१६, १७ वर्ष कटेका बालबालिका हराउने र १० वर्ष मुनिका बालबालिका हराउने कारण फरकफरक भएको उनको कथन छ । चौधरीले भने, ‘धेरै जसो उद्धार गरिएका बालबालिकाहरु आर्थिक रुपम विपन्न, सामाजिक रुपमा अपहेलित , बुवाआमा रोजगारीका लागि बाहिर जाने, रेखदेख गर्ने कोही नभएका बढी देखिएका छन् ।’
कहाँ जान्छन् बेपत्ता हुनेहरु
सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा परेर घरबाट बेपत्ता हुने किशोरी र महिलाको पहिलो गन्तव्य खुला सीमाना भएको भारत हो । भारतमा विभिन्न दलाल गिरोहको फन्दामा फसेर केही खाडी मुलुकतर्फ तस्करी हुन्छन् भने केही भारतमै यौन व्यवसायमा लागेका भेटिन्छन् ।
यस विषयमा अध्ययन गरेका प्रहरी नायब उपरीक्षक मनोहर भट्ट पछिल्लो समय नेपालकै विभिन्न भुगोलमा घरवाट बेपत्ता भएका महिला र किशोरी भेटिने गरेको बताउँछन् । प्रहरी नायब उपरीक्षक रुपमा कार्यरत भट्टले भने, ‘यौन व्यवसायमा पक्राउ परेका अधिकांश किशोरीको बयानअनुसार उनीहरु कलिलो उमेरममा प्रेम सम्बन्धमा परेर भाग्ने गरेको र केटाले अलपत्र छोडेपछि यौन व्यवसायमा लाग्ने गरेको बताउँछन् ।’
घरबाट बेपत्ता भएर पुरुषसंग घरजम गरेर बसेका थोरै मात्र भेटिन्छन् । जोपछि घर परिवारको सम्पर्कमा आउने गरेको पनि उनले बताए । तर घरबाट बेपत्ता भएपछि अलपत्र पर्ने र दलालहरुको माध्यमबाट भारत पुग्नेको संख्या नै बढी रहेको उनले बताए । भट्ट भन्छन्, ‘किशोर र युवा उमेरका बेपत्ता हुने पुरुष रोजगारीको सिलसिलामा अधिकांश भारत पुग्ने, कोही चोरी, लागूऔषध लगायतका विभिन्न मुद्दामा पक्राउ पर्ने, कोही उतै घरजम गरेर बस्ने र केही ह्युम ट्राफिकमा परेर उतैबाट तेस्रो मुलुक छिर्ने घटनासमेत रहेका छन् ।’
प्रहरीले बेपत्ता सम्बन्धि उजुरी परेपछि साधन स्रोतले भ्याएसम्म खोजतलास गर्ने गरेको छ । ‘बेपत्ता भएकामध्ये आधाभन्दा बढी सम्पर्कमा आउने गरेका छन्,’ कैलालीका प्रहरी उपरीक्षक पाल भन्छन्, ‘बेपत्ता हुने बित्तिकै परेका अधिकांश उजुरीमा महिला, बालबालिका भेटिने गरेका छन् । तर पहिले आफन्त साथीभाइ कँहा खोज्ने न भेटिएपछि मात्र उजुरी पर्ने गरेका घटनामा बेपत्ता हुनेहरु कमै भेटिने गरेका छन् ।’
गत आर्थिक वर्षमा बेपत्ता भएका ७ सय ३३ महिला र बालबालिकामध्ये १ सय ४ महिला र २९ बालबालिका अझै बेपत्ता नै छन् । प्रहरी उपरीक्षक पालले भने, ‘बेपत्ता भएको उजुरी पर्ने बित्तिकै सीमा क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सिमापारी भारतीय प्रहरी र भारतीय क्षेत्रमा कार्यरत गैसससंग समन्वय गरि प्रहरीले खोजी सुरु गर्ने हुँदा धेरै जसो भेटिने गरेका छन् ।’
उजुरी गर्ने तर पछि बेपत्ता सम्पर्कमा आए पनि प्रहरीलाई जानकारी नदिने घटना पनि धेरै रहेको प्रहरी उपरीक्षक पालले बताए । कसैको विश्वासमा परेर घरबाट बेपत्ता हुने र घर छोडिसकेपछि आफूले चाहेजस्तो नभएपछि धेरैले आत्महत्याको बाटो रोज्ने गरेको पनि उनले बताए ।
बालबालिका र महिलाका क्षेत्रमा सुदूरपश्चिममा सरकारी निकायबाहेक काम गर्ने आधा दर्जन बढी गैरसरकारी संस्थाहरु क्रियाशील छन् । सीमा नाकामा मात्र यस्ता ६ वटा गैरसरकारी संस्थाले निगरानी राख्ने गरेका छन् । प्रहरी लगायत अन्य सरकारी निकायसंगको समन्वयमा काम गरिरहेका गैससहरुले आधारिक सीमामा काम गर्छन । तर, चारैतिर खुला सीमाना भएको सुदूरपश्चिममा हरेक वर्ष बेपत्ता हुनेको संख्या बढेको छ । ‘सामाजिक सांस्कृतिक विकृति निकै बढेको छ भने टेक्नोलोजीको दुरुपयोग बढेको छ । समाजमा आर्थिक अराजकता निकै मौलाएको छ,’ अभियन्ता शिवचरण चौधरी भन्छन्, ‘चेतनाको स्तर बृद्धि भएको छ । राज्य संयन्त्रको परिचालन बढेको छ । गैरसरकारी क्षेत्रबाट पनि प्रयास भइरहेको छ । यति हुँदाहुंदै पनि बेपत्ता हुनेको संख्या घट्नुभन्दा हरेक वर्ष बढ्न थालेको देखिएको छ ।’ सामाजिक र सांस्कृतिक अनुशासन विस्तारै ध्वस्त हुन थालेको चौधरीले बताए ।