झुटो बोलेर घर पठाएको भन्दै कोरोना संक्रमितद्वारा प्रदर्शन, गाउँपालिका घेराउ
2020/07/04, 4:15
 
korona

अछाममा क्वारेन्टाइनबाट घर गएका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा घर गएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । रिपोर्ट नआउँदै घर पठाएको भन्दै शनिबार संक्रमित र संक्रमितका आफन्तले गाउँपालिकामा प्रदर्शन गरेका छन । आफुहरुलाई रिपोर्ट नआउँदै घर पठाएर समुदायमा जोखिम बढाएको भन्दै उनीहरुले गाउँपालिका घेराउ गरेर प्रदर्शन गरेका हुन । 

आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो । तर, असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरू घर गएका थिए । गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा उनीहरू क्वारेन्टाइनबाट घर गएका थिए । सबै संक्रमितहरू डेढ महिनाअघि भारतबाट घर फर्किएका थिए । 

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे । उनले १४ दिन कुर्दा पनि रिपोर्ट नआएपछि घर पठाईएको बताए । २९ जना शुक्रबार कोरोना संक्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ । गाउँ–गाउँमा कोरोना जोखिम बढ्दा पनि संक्रमितहरू कहाँ छन् भन्नेबारे गाउँपालिका बेखबर छ । रावलले संक्रमितहरू आफैं घरमा आइसोलेसनमा बसे पनि हुने र बस्न चाहेमा क्वारेन्टाइनमा पनि राखिने बताए । उनले संक्रमितहरूबारे के गर्ने भन्नेबारे गाउँपालिकाको बैठक बसिरहेको बताए ।