कैलाली जिल्ला अदालतको फैसला उल्टाउदै थारु नेता लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । थरुहटको माग गर्दै निस्किएको जुलुसले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरीको हत्या गरेको थियो । सोही क्रममा एक नाबालकको समेत गोली लागेर ज्यान गएको थियो ।
घटनाका आरोपित लक्ष्मण थारुलाई जिल्ला अदालतले २०७५ साल चैतमा तीन वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको सोही फैसला अनुसार थारु कैद भुक्तान गरेर कारागारबाट मुक्त भएका थिए । दुई वर्षपछि जिल्ला अदालतको सो फैसलालाई बदर गर्दै उच्च अदालत दिपायलले थारुलाई जन्मकैदको सजाय सुनाएको हो ।
उच्च अदालत दिपायलले हाल कारागारमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई पनि टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । उच्च अदालतका न्यायधीश टेकनारायण कुवँर र सीताराम मण्डलको ईजलासले टीकापुर घटनाको मुद्दामा फैसला सुनाउँदै हाल कारागारमा रहेका प्रतिनिधि सभा सदस्य चौधरी सहित सात जनालाई जन्म कैदको फैसला सदर गरेको हो ।