कञ्चनपुरका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
2023/11/20, 10:49
 
hjrr

 इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ ।जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ । 

परराष्ट्रमन्त्री एनपी साउदको सक्रियतामा उपलब्ध सबै कूटनीतिक तथा व्यक्तिगत च्यानलबाट बुझ्ने क्रममा आइतबार उनी सकुशल रहेको पुष्टि भएको हो । परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले विपिन सकुशल रूपमा गाजा क्षेत्रमा रहेको भरपर्दो सूचना प्राप्त भएको बताए ।

‘परराष्ट्रमन्त्रीज्यू र कूटनीतिक संयन्त्रको निरन्तर प्रयासपछि विपिन जोशी गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । उनी सुरक्षित र सकुशल छन् । उनलाई फिर्ता गर्ने प्रयास पनि सुरु भएको छ,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव जोशीले भने, ‘विपिनसँग सम्पर्क भएको छैन । तर, उनी गाजामा रहेको विश्वसनीय र भरपर्दो सूचना प्राप्त भएको हुनाले अब उनलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयासमा परराष्ट्रमन्त्रीको सम्पूर्ण प्रयास केन्द्रित भएको छ ।’

नेपाली राजदूतावास र नेपालस्थित इजरायलको राजदूतावासबाट प्राप्त सूचनाका आधारमा जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि भएको हो । ‘हामीलाई प्राप्त भरपर्दो सूचनाअनुसार जोशीलगायत त्यहाँ रहेका थाई नागरिक एकदमै सकुशल छन् । सहज र सकुशल अवस्थामा उनीहरूलाई राखिएको भन्ने भरपर्दो जानकारी आएको छ,’ जोशीले भने । 

उनी त्यहाँ हमास समूहको नियन्त्रणमा रहेको आशंकामा हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीहरूसँग परराष्ट्रमन्त्री साउदले यसअघि टेलिफोनमा संवादसमेत गरेका थिए । परराष्ट्र मन्त्रालयले हमासका मित्र मानिएका मुलुकको कूटनीतिक च्यानलमार्फत जोशीलाई पत्ता लगाउने र स्वदेश फर्काउन प्रयास गर्दै आएको थियो । जोशीको अवस्था अज्ञात हुँदा परिवार बेचैन बनेको छ । 

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ ।

सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसिआरसी०लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गर्दै आएको थियो । 

इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका जोशीलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए । 

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । मृतकहरूको शव स्वदेश ल्याएर अन्तिम संस्कार सम्पन्न भइसकेको छ । 

आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । त्यसपछि उनीहरूले जोशीलाई लिएर गएका थिए । 

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीको भनाइ थियो । हमासको गोली लागेर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका थिए । उनको भनाइ थियो, ‘उस (विपिन जोशी)लाई दुई–तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु ।’ 

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपालिका– ३ का वीरेन्द्र चौधरीसहित दुई सय ५३ जनाको विद्यार्थी टोलीलाई सरकारले यसअघि नै उद्धार गरिसकेको छ । नयाँ पत्रिकाबाट