पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा व्यावसायिक माछा पालन फस्टाउँदै गएको छ । यहाँका प्राकृतिक तालतलैयादेखि कृत्रिम पोखरीमा माछा पालन व्यवसाय बढेको हो ।
तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् । यसैबिच सुदूरपश्चिममा मंगलबार (नोभेम्बर २१) विभिन्न कार्यक्रम गरी विश्व मत्स्य दिवस मनाइएको छ । माछापालक कृषक, दाना आपूर्तिकर्ता, सरकारी निकायले दिवस मनाएका हुन् ।
सुदूरपश्चिममा माछाको अवस्था
सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । मत्स्य विकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला रहेको बताउँदै सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशतमात्रै माग धानिरहेको जानकारी दिए । बाँकी २५ प्रतिशत माछा भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको हो ।
सुदूरपश्चिममा माछाको खपत पनि निकै कम रहेको बताइएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछामात्रै उपभोग गर्ने गरेको बताइएको छ । उत्पादनमा बृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्ति १० केजी माछा उपभोग गराउने लक्ष्य रहेको शाही बताउँछन् । हालको उत्पादनलाई ४ गुणा बढाउनुपर्ने बताउँदै शाहीले जसका लागि हालको शून्यमा रहेको सरकारी लगानी बढाउनुपर्ने औँल्याए । आउँदो १० वर्षभित्र ३० हजार मेटिक टन उत्पादन पु¥याउनुपर्ने उनको जोड छ ।
यहाँका माछा पालक कृषकले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा गुणस्तरीय माछाको भुरा, दाना, औषधिसमेत नपाउने समस्या रहेको बताइएको छ । जसोतसो माछा उत्पादन भए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ छ । योसँगै माछा प्रशोधन, नयाँ परिकार बनाउने तथा माछा खाद्य प्रविधिको समेत अभाव रहेको विज्ञहरु बताउँछन् ।