चैनपुर–ताक्लाकोट सडक निर्माण आठ महिनादेखि ठप्प
2023/12/03, 11:42
 
ss

सुदूरपश्चिम प्रदेशकै समृद्धिको ढोका मानिएको चीनको तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडकको काम आठ महिनादेखि ठप्प छ । यस सडकको तल्कोट–रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ४० किमि सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले सडक निर्माणको काम रोकेसँगै स्थानीय मजदुरले काम गरेको ज्यालासमेत पाउन सकेका छैनन् । 

सडक निर्माणको काम रोकिएपछि निर्माणमा प्रयोग भएका डोजर र अन्य निर्माण सामग्री रूपातोला र दुनिवन क्षेत्रमा अलपत्र छाडिएका छन् । सडकमा ग्याबिन जाली निर्माण, मेसिनरी पर्खाल निर्माणलगायत काम गरेका १ सय ५० भन्दा बढी कामदारले पनि लामो समयदेखि ज्याला पाउन सकेका छैनन् ।

‘यो सडकका लागि आएको पैसा लगेर ठेकेदारले अन्तै खर्च गरेको भन्ने सुनेका छौं । हाम्रो ज्याला अहिलेसम्म पनि दिएको छैन,’ तल्कोट गाउँपालिका–३ रूपातोलाका चट्टे बोहराले भने, ‘यहाँका मजदुरले पाउने रकम सबै गरेर २५ लाखभन्दा बढी छ । कसैकसैले पाँच वर्षदेखि काम गरेको रकम पाएका छैनन् ।’ सडक निर्माणको काम बन्द भएपछि मजदुरी गरेको ज्याला गुम्ने हो कि भन्ने चिन्तामा कामदार रहेको उनको भनाइ छ ।

बझाङको चैनपुरदेखि चीनको ताक्लाकोटसम्म ११७ किमिमध्ये अहिलेसम्म ४० किमि सडक मात्रै निर्माण भएको छ । कुल ८५ करोड लागतमा ठेक्का सम्झौता गरेको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले नेपाल सरकारबाट ६२ करोड भुक्तानीसमेत लिइसकेको छ । त्रिदेशीय व्यापारिक र पर्यटकीय प्रयोजनका लागि निर्माण भइरहेको यो सडक छिटो सम्पन्न गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड ९चैनपुर ताक्लाकोट० मार्गको छुट्टै कार्यालयसमेत स्थापना भएको छ ।

चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालय नाम दिइएको आयोजना कार्यलयमा आयोजना प्रमुख, दुई जना इन्जिनियर, दुई जना सबइन्जिनियर, लेखापाल तथा अन्य सहयोगी कर्मचारीको छुट्टै दरबन्दीसमेत छ । आठ महिनासम्म सडक निर्माण रोकिँदा पनि कार्यालयले ताकेता गर्न नसकेको स्थानीयको भनाइ छ ।

प्रत्येक निर्वाचनमा बझाङका नेताले यही सडकलाई प्रमुख एजेन्डा बनाउने गरेको तर आठ महिनादेखि निर्माणको काम ठप्प हुँदा उनीहरू बेखबर रहेकोप्रति स्थानीयले रोष प्रकट गर्न थालेका छन् । ‘चुनावका बेला ताक्लाकोट भनेर नथाक्ने नेताहरू यत्रो समय सडकको काम बन्द हुँदा कानमा तेल हालेर बसेका छन्,’ जयपृथ्वी क्याम्पसका सहप्राध्यापक लालबहादुर बोहरा भन्छन्, ‘सडक निर्माणको काम छिटो होस् भनेर छुट्टै कार्यालय राखिएको छ । त्यहाँका कर्मचारी के हेरेर बसेका छन् रु’ चुनावका बेला मात्रै ठूला कुरा गर्ने र अरू बेला नेता, कर्मचारी र ठेकेदार मिलेमतो गरेर विकास निर्माणका काममा ढिलाइ गर्ने प्रवृत्तिका कारण सुदूरपश्चिमको विकासको सपना वर्षौंदेखि अधुरै रहेको उनको भनाए छ ।

चैनपुर ताक्लाकोट सडक कार्यालयले भने ठेकेदार कम्पनीको आलटाले प्रवृत्तिका कारण निर्माणको काम रोकिएको बताएको छ । ‘कोरोनाका कारण जेभी कम्पनीका एक जना ठेकेदार ईश्वरी भट्टको निधन भएकाले पनि काम ढिला भयो,’ कार्यालय प्रमुख तुलाराम शर्माले भने, ‘त्यसपछि पनि काम छिटो सुरु गर्नुपर्‍यो भनेर ठेकेदारलाई भनेको भन्यै छौं । आज गर्छौं, भोलि सुरु गर्छौं भनेर टारेको टार्‍यै गर्छ ।’

कोरानाका कारण यो सडक निर्माणको काम हेर्ने मुख्य ठेकेदारको मृत्यु भएको, वर्षात्मा काम गर्न समस्या भएको तथा म्याद थपसम्बन्धी प्रक्रिया पनि अगाडि बढाउनुपर्ने भएकाले काम रोकिएको ठेकेदार कम्पनीका प्रतिनिधि दिवाकर भट्टले जनाए । ‘अहिले सबै अप्ठ्यारा फुकाइसकेका छौं,’ उनले भने । कान्तिपुरबाट