फिरन्ते तथा पर्यटक चराको चिरबिरले कर्णाली नदीको तल्लो तटीय क्षेत्र गुल्जार बनेको छ । जाडो छल्न आएका पाहुना चराका कारण कैलाली र बर्दियाको सीमा क्षेत्रमा रहेको तल्लो कर्णाली क्षेत्र गुल्जार बनेको हो । नेपालको उत्तरी क्षेत्र साइबेरिया, मङ्गोलिया, उत्तरी चीन र रसियालगायतका देशबाट विभिन्न प्रजातिका जलपन्छी चरा यहाँ आइपुगेका छन् । जाडो छल्न आएका पाहुना जलपन्छीका कारण कर्णाली नदीको तल्लो तटीय क्षेत्रको रौनकता थपिएको चराविद् हिरुलाल डङ्गौराले बताए ।
“कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका जलपन्छी हिउँदमा रमाउन आएका हुन्,” उहाँले भन्नुभयो । तल्लो कर्णालीमा कल हाँस, खरखरे हाँस, सुनजुरे हाँस, जुरे डुबुल्की चरा, ठुलो जलेवा, जखेवालगायत आगन्तुक जलपन्छीको चहलपहल रहेको जनाइएको छ । उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि जाडो छल्नका लागि यीसहित विभिन्न प्रजातिका जलपन्छी कम जाडो हुने क्षेत्रको जलाशयमा रमाउन आउने गरेका छन् । अहिले कैलाली, कञ्चनपुरमा रहेको नदी र तालतलैयामा पर्यटक चरा रमाइरहेका छन् । यस वर्ष तल्लो कर्णालीमा कल हाँस हालसम्मकै ठूलो सङ्ख्यामा आएका छन् । जाडो छल्नका लागि ७८ वटा कल हाँस कर्णाली नदीको तल्ली तटीय क्षेत्रमा आएको अभिलेख छ ।
कल हाँसको यो सङ्ख्या सन् २००६ पछि यताकै सबैभन्दा बढी रहेको चराविद् डङ्गौराको भनाइ छ । यसअघि एक जोडीसम्म कल हाँस देखिने गरेका थिए । यो प्रजातिको चरा कञ्चनपुरको बेलौरीस्थित पुरैनी तालमा बढी आउने गरेका छन् । गत वर्ष यो तालमा तीन सयको हाराहारीमा कल हाँस आएका थिए । अक्टोबरतिर आइपुगेका आगन्तुक जलपन्छी करिब छ महिना यहाँ बिताउने गरेका छन् । मार्चतिर पुरानै थातथलोतिर फर्कने गरेको जनाइएको छ । घाँसे मैदानसहितको नदी तटीय क्षेत्रलगायत उपयुक्त बसोबास रहेका कारण तल्लो कर्णाली क्षेत्रमा हरेक वर्ष हिउँदमा आगन्तुक चराको चिरबिर बढी रहने गरेको चराविद् डङ्गौराको भनाइ छ । गोरखापत्र