कैलालीमा पशु चौपायामा खोरेत रोग बढ्दो, एक लाख पशुलाई लगाइयो खोप
2023/12/16, 12:15
 
ss

कैलालीमा पशु चौपायामा खोरेत रोग बढ्दो रहेको पाइएको छ । खोरेत रोग पशु चौपायामा बढ्दोरुपमा पाइएपछि कैलालीमा एक लाख पशुलाई खोरेतविरुद्धको खोप लगाइएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कैलालीले खोरेत रोग नियन्त्रणका लागि एक लाख खुरफट्टा जनावरलाई खोरेतविरुद्धको खोप लगाएको हो ।

खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, बँदेल, हात्तीलगायत खुरफट्टा जंगली जनावरमा देखापर्ने भयानक सरुवा रोग हो । यो रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले अभियान सञ्चालन गरेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलालीका प्रमुख डा। हेमराज अवस्थीले बताए ।

यो सीमाविहीन र सरुवा रोग भएकाले भारतीय सिमानाकाबाट समेत छिट्टै सर्न सक्ने हुँदा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरेको बताए। पहिलो चरणमा कैलाली जिल्लाका १३ स्थानीय तह धनगढी उपमहानगरमा ६ हजार ६ सय, गोदावरी नगरमा १० हजार, गौरीगंगामा १७ हजार, घोडाघोडीमा ७ हजार पशुलाई खोप लाएको बताए।

त्यस्तै, टीकापुरमा १० हजार, भजनी १० हजार, बर्दगोरीया ७ हजार, जोशीपुर ८ हजार, कैलारी १० हजार, मोहन्याल ४ हजार ६ सय, चुरेमा ६ हजार ६ सय, जानकी गाउँपालिकामा १० हजार गरी ९९ हजार ८ सय गौशालाका अन्य २ सय पशु चौपायालाई खोप लगाएको कार्यालय प्रमुख अवस्थीले बताए ।

छ महिनापछि थप एक लाख पशुलाई खोप लगाउने कार्यक्रम रहेको बताइएको छ । गत वर्ष समेत कैलालीमा २ लाख पशुलाई खोरेतविरुद्धको खोप लगाइएको कार्यालय प्रमुख अवस्थीले बताए । गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडामा यो रोग देखिने भए पनि गाई, भैँसी, गोरु बढी सङ्ख्यामा खोरेतबाट संक्रमित हुनेगरेका छन् ।

खोरेत रोग लाग्दा पशुचौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्‍याल चुहिने, गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्षण देखापर्ने हुन्छ । खोरेतका कारण बर्सेनी पशु चौपायामा समस्या देखापर्दा कृषकले नोक्सानी बेहोर्दैआएका छन् । सरकारले सन् २०३० सम्म खोरेत न्यूनीकरण गर्ने लक्ष्य लिएको छ । खोरेतबाट सुदूरपश्चिम प्रदेशमा मात्र १ हजार ४ सय १५ बढी पशु मरेको तथ्यांकले देखाएको छ । गोरखापत्रबाट