एनएसएलको पहिलो प्लेअफमा आज पोखरा र धनगढी भिड्दै
2023/12/25, 11:56
 
aa

नेपाल सुपर लिगको प्लेअफ अन्तर्गत आज पोखरा थन्डर्स र धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन्। यसअघि पोखरा र धनगढी दुईपटक भिडेका छन्। गत सिजन पोखरामाथि जित निकालेको धनगढीले यस संस्करणमा भने पोखरासँग बराबरी खेलेको थियो।

धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा दोस्रो पटक पुगेको हो। धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिगको प्लेअफ हुँदै फाइनलमा पुगेको थियो। फाइनलमा काठमाडौं रेजर्ससँग पराजित भएको धनगढी, यस संस्करणको उपाधि जित्ने लक्ष्यमा रहेको छ। 

यता, पोखरा थन्डर्स पहिलोपटक नेपाल सुपर लिगको प्लेअफमा पुगेको हो। पोखरा थन्डर्स गत सिजन बुटबल लुम्बिनी एफसीसँग गोल अन्तरमा पछि पर्दा प्लेअफको समिकरणबाट बाहिरिएको थियो।

यद्यपि, यस सिजनमा पोखरा थन्डर्सले धनगढी एफसीभन्दा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ। पोखराले समूह चरणमा ४ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार व्यहोरेको छ।

यता, १ खेलमा पराजय भोगेको धनगढीले ४ खेलमा बराबरी र ३ खेलमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० देखि सुरु हुने यस खेलको विजेताले यस संस्करणको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।