प्रधानमन्त्री कप क्रिकेट : बागमतीमाथि सुदूरपश्चिम प्रदेशको रोमाञ्चक जित
2023/12/25, 4:44
 
dd

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

सुदूरपश्चिम प्रदेशले चार खेलमा हात पारेको यो तेस्रो जित हो । एक खेलमा भने सुदूरपश्चिम प्रदेश पराजित भएको थियो । अर्कोतिर, बागमतीले प्रदेशले ब्यहोरेको यो दोस्रो हार हो । चार खेल खेलेको बागमती प्रदेशले दुई खेलमा भने जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

सुदूरपश्चिम प्रदेशको जितमा बिन्दू रावलले २८ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी बिन्दूले ५१ बलमा तीन चौका पनि हिर्काइन् । त्यसअघि सुदूरपश्चिम प्रदेशले ओपनर रुबी पोद्दारलाई नौ र अनु कडायतलाई एक रनमा गुमाएको थियो ।

सुदूरपश्चिमका लागि पाँचौँ नम्बरकी ब्याटर कविता जोशीले पनि अविजित २७ रनको योगदान गरिन् । उनले २२ बलमा चार चौका पनि हिर्काइन् । सम्झना खड्का भने सात रनमा पेभेलियन फर्किइन् । रेवती धामी एक रनमा अविजित रहिन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । बागमती प्रदेशकी बलर अस्मिना कर्माचार्य र सोनी पाख्रिनले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशका लागि ओपरन हेलिसा गुरुङले १६ रन बनाएकी थिइन् । उनले १० बलमा तीन चौका पनि प्रहार गरिन् । अर्की ओपनर कञ्चन श्रेष्ठले पनि ४२ बलमा १९ रन बनाइन् । तेस्रो नम्बरकी ब्याट्र सोनी पाख्रिनले ३० बलमा एक चौकाको मद्दतले १३ रन जोडिन् । यशोदा बिष्ट र कप्तान अस्मिना कर्माचार्य एक–एक रन बनाउँदै आउट भए ।

यशु पाण्डे भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । सलिना सिलवालले १० रन र बिपिसा शाहीले नौ रन जोडेका थिए । खुशी डंगोल एक रनमा अविजित रहिन् । बागमती प्रदेशले अतिरिक्त रुपमा १७ रन पायो ।

सुदूरपश्चिम प्रदेशका बलर कविता जोशी र लक्ष्मी साउदले दुई–दुई विकेट लिए । लक्ष्मीले चार ओभरमा ११ रन खर्चिइन् । कविताले भने चार ओभरमा १४ रन खर्चिइन् । मनिष चौधरी र जानकी थापाले पनि एक–एक विकेट हात पारे ।