प्रधानमन्त्री कपः कोशीलाई हराउँदै एपिएफ च्याम्पियन
2024/01/03, 2:21
 
apf

कोशी प्रदेशलाई ११ रनले स्तब्ध बनाउँदै विभागीय टोली नेपाल एपिएफ अपराजित रहँदै क्लब प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्यामिपयन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  बुधबार  सम्पन्न फाइनलमा एपिएफले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरेपनि चार विकेट गुमाँदै १ सय ३ रन मात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ५८ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरिन् । यसैगरी कोजल श्रेष्ठले २२ रन बनाए ।

दोस्रो विकेटका लागि रुबिना र काजलले ६० रनको साझेदारी गरे । एपिएफका लागि करुणा भण्डारी र कप्तान सीता राना मगरले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै१ सय १४ रनको योगफल तयार पारेको थियो ।  एपिएफका लागि इन्दु बर्माले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाए। 


कोशीका लागि अप्सरी बेगमले चार ओभरमा रन २१ खर्चिदै तीन विकेट लिइन् । उनले २० औं ओभरमा पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गराउँदै ह्याट्रिक पूरा गरेकी थिइन् । यसैगरी एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले समान एक विकेट लिए ।

कोशी यो प्रतियोगितामा एपिएफसँग तेस्रोपटक पराजित भएको हो । यसअघि एपिएफले लिग चरणमा ९२ तथा पहिलो क्वालिफायरमा ५२ रनको जित निकालेको थियो ।