क्यानको क्यालेन्डरमा 'अर्जुन ट्रफी'
2024/01/05, 2:03
 
ftsydf

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो बार्षिक क्यालेन्डरमा अर्जुन ट्रफी टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितालाई समावेश गरेको छ ।

क्यानले बिहीबार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बर र डिसेम्बरमा आयोजना हुने गरि अर्जुन ट्रफीलाई समावेश गरेको हो । गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीका अनुसार धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक नेपाली क्रिकेटका धरोहर दिवंगत प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको थियो । 

यसअघि धनगढी प्रिमियर लिग(डीपीएल)जस्ता व्यवसायिक ठूला प्रतियोगिता आयोजनाको अनुभव सम्हालिसकेका शाहीले अर्जुन ट्रफीले नेपाली क्रिकेटमा बेन्चमार्क सेट गर्ने बताए । प्रतियोगितामा सात प्रदेशका ७ क्लबहरुले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

‘अर्जुन दाईले नेपाली क्रिकेटमा निभाउनुभएको भूमिका अतुलनीय छ । उहाँले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु जन्माउनुभएको छ ।’ शाहीले भने, ‘उहाँको योगदानको कदर गर्दै हामीले यो प्रतियोगिता आयोजनाको प्रस्ताव गरेका थियौं । हाम्रो प्रस्तावलाई स्वीकार गर्दै क्यालेन्डरमा समावेश गरिदिएकोमा क्यानलाई धन्यवाद दिन चाहान्छु । साथै सम्पूर्णलाई प्रतियोगितामा जोडिन आह्वान गर्दछु ।’ 

आफ्नो सम्पूर्ण जीवन नै क्रिकेटमा नै समर्पण गरेका खड्का सुदूर पश्चिमाञ्चल क्षेत्रकै क्रिकेटको सम्मानिय अभिभावक हुन् । उनको प्रशिक्षकत्वमा हुर्किएका भुवन कार्की, नरेश बुढाऐर, विनोद भण्डारी, प्रदिप ऐरी, राजु रिजाल, सुनिल धमला, सोनु खड्का जस्ता थुप्रै खेलाडीहरुले नेपालको प्रतिनिधित्व गरिसकेका छन् । 

भारतको क्रिकेट नर्सरी मानिने मुम्बई शहरमा बाल्यकाल विताएका अर्जुन खड्काले त्यही क्रिकेट प्रशिक्षण गरेका थिए । पारिवारिक कारणले धनगढी आएपछि सुरुमा उनले स्थानीय कर्भडहलमा रुपमा स्थानिय युवाहरुलाई प्रशिक्षण गराउने गरेका थिए । उनले २०७० सालमा धनगढी क्रिकेट एकेडेमीको स्थापना भएपछि मुख्य प्रशिक्षकको रुपमा काम गरे । उनको प्रशिक्षण तथा मेहेनतले धनगढी क्रिकेट एकेडेमी छोटो समयमै थुप्रै चर्चा तथा उपलब्धि हासिल गर्न सफल भएको थियो । २०७२ भदौमा उनको निधन भएको थियो ।