माघ लहैली सुरिक सिकार खैली रे हाँ...
2024/01/15, 3:06
 
dd

 माघ लहैली सुरिक सिकार खैली रे हाँ,
सखीये हो माघक् पिली गुरी गुरी जाँर..

कुहिरो र शिरशिर बताससँगै जाडो चरमचुलीमा छ । यो चिसो मौसममा मघौटा नाचगान एवम् गीतबासले थारु बस्ती भने तातिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाइ रहेका छन् । महान पर्व एवम् नयाँ वर्ष माघ ९माघी० को उल्लास थारु समुदायमा छाएको हो । 
कुहिरो र शिरशिर बताससँगै जाडो चरमचुलीमा छ । यो चिसो मौसममा मघौटा नाचगान एवम् गीतबासले थारु बस्ती भने तातिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाइ रहेका छन् । महान पर्व एवम् नयाँ वर्ष माघ ९माघी० को उल्लास थारु समुदायमा छाएको हो । 

यो समुदायका मानिस हर्षोल्लास पूर्वक आफ्नो ठुलो पर्व मनाइ रहेका छन् । थारु बस्ती मघौटा नाच, ढमार, ढुमरु गीतले गुञ्जायमान बनेको छ । परम्परागत मघौटा नाचगानले गाउँ रौनक बनेको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँकी द्रोपती चौधरीले बताइन।थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ । यो पर्वको पहिलो दिन पुस मसान्त हो । यस दिन विहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुङ्गुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ । यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठामिठा परिकार खाने चलन रहेको गौरीगङ्गा नगरपालिकास्थित नुक्लिपुरका दिनेश चौधरीले बताए। माघको पहिलो दिन थारु सम्वतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरीको दुःख पीडा बिर्सेर रमाउने परम्परा रहेको रहेको छ । 

माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । आजबाट थारु सम्वत् २६४७ सुरु भएको छ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशिर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । यसैगरी, मासु, ढिक्री, तरुल लगायतको परिकार खाने र आफन्तहरुलाई खुवाउने गरिन्छ । यस दिन एक अर्कालाई सेवाढोग गरेमा रिसराग, आपसी वैमनस्यताको अन्त्य हुने विश्वास थारु समुदायमा रहेको छ ।

माघ २ गते अर्थात् माघ पर्वको अन्तिम दिन खोज्नीबोज्नी हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यहि दिन गाउँको नेतृत्व गर्ने व्यक्ति चयन गर्ने चलन पनि रहेको छ । माघ पर्वको अन्तिम दिननै आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रुपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ । यसैदिन बालबच्चालाई माघ मेला घुमाउन लैजाने पनि गरिन्छ । 

माघ थारु समुदायका लागि स्वतन्त्रताको पर्व पनि हो । तत्कालीन समयमा कमैया, कम्लहरीले माघमामात्रै मालिकको घरबाट छुटकारा पाउने गर्दथे । माघबाट मुक्त कमैया, कम्लहरीको जीवनमा नयाँ अध्याय सुरु भएका कारण नाचगान गरेर स्वतन्त्रताको पर्वको रुपमा मनाउने गरेको कृष्णपुर नगरपालिका–२ वाणी मुक्त कमैया बस्तीकी बिस्मतिदेवी चौधरीले बताइन् । ‘नाचगान गर्दैै धुमधामका साथै हामी माघ मनाउँछौं’, उनले भनिन्।

माघ पर्व सकिएसँगै थारु समुदायमा विवाह, नयाँ घर बनाउने लगायतका कार्यको सुरुवात हुने गर्दछ । माघ धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्त्व बोकेको पर्व रहेको थारु अगुवा दिलबहादुर चौधरीको भनाइ छ ।

‘थारुले मनाउने पर्व माघ हो, माघी होइन’
थारु समुदायले मनाउने पर्व माघी नभइ माघ पर्व रहेको सो समुदायका अगुवा, बुद्धिजिवीहरुले स्पष्ट पारे । धेरैजसो ठाउँमा माघी पर्व भनिएकोप्रति आपत्ति जनाउँदै उनीहरुले आफ्नो मौलिक पर्व माघ रहेको बताए । ‘माघी कसले मनाउँछ, मलाई थाहा छैन । मेरो पुर्खाले मनाउँदै आएको मौलिक पर्व माघ हो’, थारु बुद्धिजिवी एवम् साहित्यकार छविलाल कोपिलाले भने ।

उनका अनुसार थारु गाउँघरमा माघ खैना माघ खाने, माघ लहैना माघ नुहाउने, माघ मनैना माघ मनाउने जस्ता शब्दहरु प्रचलनमा रहेको छ । पहिलेदेखि चलनचल्तीमा रहेको कुनै पनि शब्दमा माघी न भनिएकाले थारुले मनाउने पर्व माघ रहेको उहाँको तर्क छ ।

माघ पर्वलाई कञ्चनपुरदेखि दाङसम्मका थारुले माघ, कपिलवस्तु र रुपन्देहीका थारुले खिचरी, नवलपरासी, चितवनका थारुले खिचरा र पूर्वतिरका थारुले तिला सङ्क्राति भन्ने गरेको बताइएको छ । कुनै पनि जिल्लाका थारुले माघ पर्वलाई माघी नभनेकाले थारु मौलिक पर्वलाई जबरजस्ती माघी नबनाउन थारु अगुवाहरुको आग्रह छ ।

पुर्खाहरुले बोलीचालीको भाषामा ‘माघ टिहुवार’ भनेको र आफूहरुले पनि माघ भन्दै आएकाले थारुहरुले मनाउने पर्व माघ रहेको थारु अगुवा सोम डेमनडौराको भनाइ छ । थारु समुदायका व्यक्तिको लवजले जे बोल्छ, त्यहि मौलिक र सत्य रहेको उनले उल्लेख गरे। डेमनडौराले भने, ‘हामीले भन्ने त माघ हो, तर हाम्रो लवज बोल्न अप्ठ्यारो मान्नेहरुले हाम्रो मौलिक पर्वलाई बिगारेर आफू अनुकूल जबरजस्ती माघी बनाइ दिए । हामीले मनाउने पर्व माघी होइन ।’ थारु शब्दकोषमै माघी पर्व नरहेको अर्का साहित्यकार जीत ट्रासनले बताए ।