कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित विपिन जोशीको घर सुनसान छ। घरमा उनका बुवा, आमा र बहिनी मात्रै छन्।
परिवारका एक्ला छोरा विपिन फर्किने बाटो कुरेर बसेका छन्, उनीहरु। कतैबाट केही खबर आउँछ कि भनेर दिनभर समाचार हेर्छन्। गाजामा भइरहेको आक्रमण सुन्दा उनीहरुको मन पोल्छ।
इजरायलबाट छोरा विपिन बेपत्ता भएको करिब चार महिना बित्नै लाग्दा पनि अहिलेसम्म उनको अत्तोपत्तो छैन। विपिनको परिवार चिन्तित छ। आमाबुवा र बहिनीको अवस्था न रातमा निद्रा, न दिनमा चैन भएको छ। सरकारले विपिनको परिवारको पीडा सुनेको छैन। ‘आफ्नो मान्छेसँग एक दिन पनि बोल्न नपाउँदा कस्तो हुन्छरु दाइसँग कुरा नभएको १ सय ७ दिन भइसक्यो, हामी कसरी बाँचिरहेका हौँला’, विपिनकी बहिनी पुष्पाले दुखेसो गरिन्, ‘न भोक लाग्छ, न निद्रा’
बहिनी पुष्पाले विपिन सम्पर्कविहिन भएपछि यसपटक भाइटीका पनि लगाउन पाइनन्। घटनापछि उनको दैनिक जीवन नै खलबलिएको छ। कक्षा ११ मा पढ्ने उनी दाइको चिन्ताले नियमित कलेज पनि जान सकेकी छैनन्। विपिनको परिवारले उद्धारका लागि काठमाडौँ नै गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे। तीनरचारपटक परराष्ट्रमन्त्री एनपी साउदलाई भेटे। तर अहिलेसम्म उनीहरुले कूटनीतिक पहल भइरहेकाले विपिनको चाँडै उद्धार हुने आश्वासन मात्रै पाए।
इजरायली डिफेन्स फोर्स आईडीएफले भिडिओ सार्वजनिक गर्दै विपिनलाई प्यालिस्टिनी विद्रोही समूह हमासले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताएको थियो। त्यसयता विपिनबारे थप जानकारी केही आएको छैन। हमास र इजरायलबीच युद्धविरामको खबरले विपिन रिहा हुने आशा पलाएको थियो। तर केही बन्धक रिहा भए पनि त्यसमा विपिन परेनन्।
युद्ध विराम भंग भएपछि लगातार इजरायलले गाजामा आक्रमण गरिरहेको छ। विपिनकी आमा पद्मा छोरा फर्किने बाटो कुर्दाकुर्दा गलिसकिन्। छोरा सम्झेर गहभरि आँशु पार्दै भक्कानिन्छिन्, उनी। ‘छोराको अवस्था के छरु खाएको छ कि भोकैरु केही थाहा छैन। उसलाई लगेको भनिएको गाजामा निरन्तर आक्रमण भइरहेको समाचारमा सुनिन्छ’, पद्मा भन्छिन्, ‘उसको अवस्था कस्तो छ भनेर कल्पना पनि गर्न सक्दैनौँ।’
उनले सरकारबाट आश्वासन मात्रै पाएको गुनासो गरिन्। सुरुवातदेखि नै सरकारले गतिलो पहल गरेको भए युद्धविरामका बेला विपिन छुट्ने आशा परिवारलाई थियो। कूटनीतिक पहल गरेर चाँडै विपिनको अवस्था यकिन गरेर स्वदेश फिर्ता गर्न सरकारले तदारुकता देखाउनुपर्ने जोशी परिवारको माग छ। ‘हामीले छोराको रिहाइका लागि सरकारसँग धेरै हारगुहार गर्यौँ। पहल भइरहेकाले विपिनलाई ल्याउँछौँ भन्ने मात्रै सुनेका छौँ। तर कहिले’, उनले प्रश्न गरिन्, ‘सन्तान खुकुरीको धरमा उभिएको छ। राज्यले हाम्रो चित्कार सुनेर विपिनलाई सकुशल फिर्ता ल्याएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।’
विपिनकी आमा पद्मा शिक्षिका हुन। उनी कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन्। ठूलो सपना लिएर विदेश भासिएको छोरो अपहरणमा परेपछि उनी विक्षिप्त छिन्। घटनापछि उनी नियमित विद्यालय जानसमेत सकेकी छैनन्। विपिनका बुवा महानन्द पनि शिक्षण पेसामै छन्। उनी बझाङको महेन्द्र माध्यमिक विद्यालयमा पढाउँछन्। छोराको खबर सुनेपछि तराई झरेका उनी उनी हाल महेन्द्रनगरमै छन्। परिवारको रेखदेखका लागि बझाङ र महेन्द्रनगर आउजाउ गरिरहन्छन्, उनी।
सरकारले विदेशमा अपहरणमा परेका आफ्नै नागरिकको अवस्था पत्ता लगाउन नसकेको उनी बताउँछन्। ‘हाम्रो सरकारको पहल पुगेन। अन्य देशले आफ्ना नागरिक रिहा गरिसके। हाम्रो सरकारले के गरिरहेको छ खै’, उनले भने, ‘युद्ध विराममा पनि रिहा नहुँदा झनै चिन्ता थपिएको छ।’ गत असोज २० गते हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। महेन्द्रनगरका विपिनलाई हमासले अपहरण गरेर लगेको उनका साथीहरुले घरमा म्यासेज पठाएका थिए।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ अन्तिम साता इजरायल गएका थिए। आतंककारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए। पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए। दोस्रोपटकको बम भने बंकरमै विस्फोट भएको थियो।
विपिनले गत असोज १९ गते शुक्रबार परिवारसँग कुराकानी गरेका थिए। त्यस क्रममा उनले आमासँग खाना खाइरहेको बताएका थिए। आक्रमणबारे केही नबताएको विपिनकी आमा पद्मा सुनाउँछिन्। भोलिपल्ट शनिबार दिउँसो १२ बजेतिर दाइ किशोरसँग विपिनले भिडिओ कलमा कुरा गरेका थिए। ‘आक्रमण हुनसक्ने भएकाले बंकरमा लुक्न सूचना जारी भइरहेको छ’ भनेर विपिनले किशोरसँग भनेका थिए। त्यसपछि विपिनको अवस्था अज्ञात छ। विपिनको परिवार बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरमा बस्थे। केही वर्षअघि मात्रै उनीहरु महेन्द्रनगरमा बसाइँ सरेका हुन्।
विपिनले कक्षा ५ सम्म बैतडीको डाँडाबाग प्राथमिक विद्यालयमा अध्ययन गरे। त्यसपछि कक्षा ८ सम्म जनता माध्यमिक विद्यालय गाउजीमा पढे। महेन्द्रनगरको शान्ति निकेतन माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विपिनले आईएससी लिटिल बुद्ध कलेजबाट गरे। टीकापुर क्याम्पसमा बीएससी एग्रिकल्चर पढिरहेका उनी प्रयोगात्मक शिक्षणका लागि इजरायल गएका थिए।
‘११ महिना मात्रै पढाइ हो। त्यसपछि सर्टिफिकेट पाइन्छ। सीप सिकेर दक्ष बनिन्छ। त्यो जीवनभर काम लाग्छ। स्वदेशमै काम गर्न सजिलो हुन्छ’, इजरायल जाँदा विपिनले भनेका थिए, ‘यो तालिम सकेर नेपालमै केही गर्छु।’ विपिनको बीएससीको नतिजा पनि सार्वजनिक भएको छ। एक महिनाअघि सार्वजनिक नतिजामा उनी उत्तीर्ण भएका छन्। ‘रिजल्ट पनि आएको छ। ऊ पास भएको छ’, विपिनकी आमा पद्माले भनिन्, ‘आफैँ आएर रिजल्ट ल्याउला भनेर हामी कलेज गएका छैनौँ। तर छोरा कहिले आउँछ केही टुंगो छैन।’