दुर्गममा हाकिमकै सकसः तलकोटमा स्वास्थ्य प्रमुखलाई जिम्मेवारी
2024/01/22, 12:48
 
dd

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये अहिले पनि झन्डै आधा बढी स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले खटाउनु पर्ने हो तर, दरबन्दी अनुसार जनशक्ति नहुँदा यहाँका स्थानीय तहहरू निमित्तको भरमा चलिरहेका हुन् ।

बझाङको दुर्गम गाउँपालिका तलकोट अहिले पनि निमित्तको भरमा छन् । यहाँ प्रमुख प्रशासकीय अधिकृतको लागि प्रशासन ९सातौँ० तहका व्यक्तिको दरबन्दी रहेको छ । तर, अहिले दरबन्दी अनुसार कर्मचारी नहुँदा निमित्तको भरमा चल्नु परेको गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले जानकारी दिइन् ।   ‘दुर्गम भएको हुँदा यहाँ हाकिम आउन चाहँदैनन् आए पनि बस्न मान्दैनन्’ उनले भनिन् ।
स्थानीय तहको सुरुमा शिशिर रिजाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका थिए । त्यसपछि लामो समय स्वास्थ्य शाखाका शिद्धराज भण्डारीले निमित्त चलाए ।  केही समय अघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका श्रीदेव यादव एक महिना पनि बसेनन् । त्यसपछि फेरी अहिले पालिका निमित्तको भरमा छ । 

‘पहिलो पटक निमित्तबाट दरबन्दी अनुसारका हाकिम आउनु भएको थियो उहाँ पनि धेरै बस्नु भएन उपाध्यक्ष’ भण्डारीले भनिन् ‘फेरी निमित्तबाट काम गर्नु पर्ने बाध्यता आइलाग्यो ।’ सातौँ तहका प्रशासनका व्यक्तिको खोजीनिती भए पनि नपाइएपछि अहिले संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखा प्रमुखलाई नै निमित्तको जिम्मेवारी तोकिदिएको छ । झन्डै साढे तीन वर्ष देखी स्वास्थ्य शाखा प्रमुख रहेका केशवराज जैशीलाई संघीय सरकारले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
जैसी स्वास्थ्य तर्फका छैटौँ तहका कर्मचारी हुन् । यहाँ अन्य दुई स्वास्थ्यकै छैटौँ र प्रशासनका पनि छैटौँ तहका कर्मचारी छन् । जैसी स्वास्थ्य शाखा प्रमुख रहेकै बेला निमित्त रहेका सिद्धाराज भण्डारी पनि अहिले पालिकामै छन् भने अर्का नरजित खड्का र प्रशासन तर्फका केशव भट्ट पनि छन् । सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी नखटाउँदा सम्म आफूलाई निमित्तको जिम्मेवारी दिइएको जोशीले बताए ।

अन्य तीन जना पनि छैटौँ तहको कर्मचारी हुनुहुन्छ तर, म सिनिअर भएको हुँदा मलाई जिम्मेवारी दिइएको हो ’ उनले भने दरबन्दी अनुसारको कर्मचारी नआउँदा सम्म म नै रहन्छु ।’ उनी आफू कार्यरत रहेका मध्ये सबै भन्दा वरिष्ठ भएको हुँदा निमित्तको जिम्मेवारी पाएको बताउँछन् ।  केही समय अघि सम्म नर बहादुर ठगुन्ना दार्चुलाका तीन वटा कार्यालयको हाकिम थिए । ठगुन्नाले जिल्ला समन्वय समिति दाचुर्लाको जिल्ला समन्वय अधिकारी, महाकाली नगरपालिका र दुँहु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरे ।

यसै गरी पदमराज उपाध्याय पनि बझाङका दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । उनले बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली रहेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँले प्रशासन समूहका शाखा अधिकृत अर्थात् ७ औँ तहको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेस्रो स्थानीय तह डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको थियो । अवस्थीलाई जिल्लाको सिगास गाउँपालिकामा थप जिम्मेवारी गर्ने गरी पत्र पठाएको तेस्रो दिन नै थप डिलाशैनी गाउँपालिका हेर्ने जिम्मेवारी दिएको थियो ।
अहिले सुर्नया बाहेकका अन्य दुई पालिकाको जिम्मेवारीमा उनी नै छन् ।

संघीय सरकारले आवश्यकता अनुसार दरबन्दी सृजना गर्न नसक्दा कतै एकै व्यक्तिले दुईदेखि तीन वटासम्म कार्यालय हेर्नु परेको छ भने कतै पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य र शिक्षा समूहका शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सञ्चालन गरिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा  ८४ मा प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी व्यवस्था राखिएको छ । त्यसको उपदफा ३ मा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति कानुन बमोजिम हुने उल्लेख छ तर, अहिले सम्म उक्त कानुन निर्माण भएको छैन ।