वैकल्पिक माध्यमबाट पठनपाठन सुरु
2020/07/06, 8:36
 
radio

यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो। दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन्। रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए। 

आजदेखि हरेक दिन साँझ ६ः१५ बजेदेखि ७ः०० बजेसम्म र बिहान ८ः३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुने छ। एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८ः३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ। एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ।

रेडियो शिक्षा कार्यक्रमबाट कोर्सको पढाइ हुने भएकाले विद्यार्थीलाई रेडियो सुनेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन आग्रह गरिएको छ। रेडियो शिक्षा कार्यक्रममा विज्ञान विषयको कोर्स आजदेखि पढाउने भएकाले आज कक्षा १० को विज्ञान विषयको पढाइ भएको रोस्टर शिक्षक गजराज भट्टले जानकारी दिए।

नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीअन्र्तगत रेडियो शिक्षा कार्यक्रमका विषयमा तालीमसमेत दिइएको थियो। विद्यार्थीहरु लामो समयदेखि घरमै बस्न बाध्य भएका र उनीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्नका लागि वैकल्पिक पठनपाठनको शुरु गरिएको हो।

गत चैतदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठन विद्यार्थीका लागि उपयोगी हुने मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन शुरु गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए।