सुदूरपश्चिमका ९०४ जना कोरोना संक्रमित डिस्चार्ज
2020/07/07, 8:31
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पताल र क्वारेन्टिनबाट नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सोमवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार शुक्रवार मात्रै दुई सय ४२ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ । बैतडीबाट दुई सय १७ जना, अछामबाट १५ र बझाङबाट १० जनालाई डिस्चार्ज गरिएको उनले बताए । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, डोटीका एक सय ५७, कञ्चनपुरका एक सय दुई र कैलालीका ९६ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ ।

अछामबाट ६०, बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।