गौरीगङ्गा गोल्डकप फागुन १९ गतेदेखि हुने, विजेताले ६ लाख पाउने
2024/02/07, 7:08
 
ss

गौरीगंगा गोल्डकपको चौथो संस्करण फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ ।  प्रतियोगिताको विजेताले ६ लाख नगद सहित ट्रफी मेडल पाउनेछ । उपविजेताले ३ लाख नगद सहित ट्रफी मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिनुभयो । यस्तै उत्कृष्ट खेलाडीले नगद ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ हजार पाउने छन । 

कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहनेछ । कैलाली, कञ्चनपुर र बाजुराको टीमले प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको आयोजकले जनाएको छ । यसअघिका सिजनमा भने सुदूरपश्चिमभन्दा बाहिरका जिल्लाबाट पनि टोलीको सहभागिता रहेको थियो । 

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कलेलले बताउनुभयो । उहाँले गौरीगंगाबाट अहिले राष्ट्रिय विभिन्न टोलीमा यस क्षेत्रका खेलाडीको सहभागिता राम्रो  देखिनु मोफसलका प्रतियोगिताको उपलब्धी भएको बताउनुभयो ।  प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरी गङ्गाको लिक्मा खेल मैदानमा आयोजना हुने छ । पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताउनुभयो । गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एशियन थाई फुड्स र जगदम्बा इन्टरप्राइजेज सह–प्रायोजकका रुपमा रहेका छन । राष्ट्रिय खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र र गौरीगंगा नगरपालिका मुख्य प्रर्वद्धकका रुपमा रहनेछन । सौगात क्लिनिक मेडिकल पार्टनरका रुपमा रहनेछ । प्रवर्दकका रुपमा गौरीगंगा नगरपालिकाका ११ वटै वडा रहेका छन । कैलाली जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघ र एन्फाले प्रतियोगितालाई प्राविधिक रुपमा सहयोग गर्नेछन् ।