सुदूरपश्चिम सरकारको एक वर्षः अनुगमन, भ्रमण र बैठक नै मुख्य उपलब्धि !
2024/02/10, 11:18
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको एक वर्षे कार्यकाल पूरा भएको छ । गत वर्षको माघ २७ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा ठूलो दलका हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पूरा भएको हो । मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत प्राप्त गरेका थिए । उनलाई सत्ता गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।

प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारका एक बर्से उपलब्धि सार्वजनिक गरिएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री शाहले सानातिना कामलाई उपलब्धि माने पनि एक वर्षको अवधिमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि भने हासिल गर्न सकेको छैन ।  सुदूरपश्चिम स्वरोजगार कोषबाट १४ सहकारीमार्फत् ४६२ जनालाई १० करोड ३० लाख कर्जा, सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रकाशन, विभिन्न प्रतियोगिता सञ्चालन, कर्मचारीहरूलाई तालिम, कृषीयन्त्र उपकरण र अनुदान वितरण, सडकहरू निर्माण प्रक्रियाको थालनी लगायतलाई प्रमुख उपलब्धि मानिएको छ ।

अनुगमन, भ्रमण र बैठकलाई नै उपलब्धि मानिएको छ । इजरायल घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई दुईरदुई लाखका दरले रकम सहयोग, बझाङ भूकम्प प्रभावितहरूको उद्धार तथा राहत वितरणमा ११ करोड खर्च, जाजरकोट भूकम्प पीडितहरूका लागि १ करोड रकम सहयोग, सुदूरपश्चिममा प्राकृतिक विपत्तिको समयमा निरीक्षण, उद्धार तथा राहत सामग्री सहयोग, स्थलगत अवलोकन अनुगमन, ९ वटै जिल्लामा भ्रमणलाई प्रदेश सरकारको उपलब्धि मानिएको छ । 

यस्तै नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माण, प्रथम चौमासिकमा रहेको १४ प्रतिशत न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशत पुर्‍याइएको, स्थानीय तहमा आवश्यक आकस्मिक योजनामा खर्च गर्ने परिपाटीको विकास गरिएको र  वित्तीय हस्तान्तरण कूल बजेटको ८।२५ स्थानीय तहलाई गरिएकोलाई उपलब्धि मानिएको छ । 

धार्मिक पर्यटनको विकासका लागि मानस खण्ड सम्मेलन र प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न गरिएको सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइरहेका र सम्भाव्यता भएका सेती ६, पश्चिम सेती, वेतन कर्णालीलगायत जलविद्युत आयोजना र गौरवका तथा बहुवर्षीय आयोजनाको प्रत्यक्ष अवलोकनगरी समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको, आइसीसी यू–१९ विश्वकपमा छनोट भएका सुदूरपश्चिमका खेलाडीहरूलाई प्रोत्साहन स्वरूप १ लाख र ५० हजार रुपैयाँ प्रदान, यस्तै पुरुष टी–२० विश्वकप २०२४ मा सुदूरपश्चिमबाट छनोट भएका सिनियर खेलाडीहरूलाई समेत प्रोत्साहन स्वरूप जनही २ लाख प्रदान गरिनुलाई पनि उपलब्धिका रूपमा राखिएको छ ।

अन्तर प्रदेश मुख्यमन्त्री बैठक विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक, राष्ट्रिय समस्या समाधान समिति बैठक, पीएलजएिसपी बैठकलगायतलाई पनि एक बर्से उपलब्धि मानिएको छ । मन्त्रिपरिषद् बैठकबाट ५ वटा संशोधन विधेयकहरू प्रदेश सभामा पठाइएकोमा २ वटामा सैद्धान्तिक सहमति प्रदान गरिएको, २ वटा नियमावली, ८ वटा कार्यविधि र ३ वटा मापदण्ड निर्माण गरिएको सरकारको एक वर्षे उपलब्धिमा उल्लेख छ । 

सरकार गठन भए यता २५ पटक मन्त्रिपरिषद् बैठक बसेको बताइएको छ । शाह नेतृत्वको सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट सरकारमा सहभागी छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माल, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, कृषि राज्यमन्त्री कैलाश चौधरी र नेकपा एकीकृत समाजवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाही सरकारमा सहभागी छन् ।   

४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनबाट सुदूरपश्चिम प्रदेश सभामा दोस्रो कार्यकालका लागि ५३ जना सांसद निर्वाचित भएका थिए । केन्द्रीय सरकारकै समीकरणअनुसार सुदूरपश्चिममा पनि नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गठबन्धनको सरकार बनेको थियो ।

पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिन ढिला गरे । त्यसको केही समयमै केन्द्रमा सरकार समीकरण फेरियो । विश्वास लिने अन्तिम दिन मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले मत नदिएपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।