तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी गर्दै दिनेश
2024/02/22, 9:26
 
ss

कैलालीको धनगढी उपमहानगरपालिका–९, बङ्ग्राकटानका दिनेश चौधरीले १७ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । विगत १९ वर्षदेखि तरकारी खेती गर्दै आएको उनले बताए । उनले भने, ‘मैले २०६१ सालबाट तरकारी खेती गर्दै आएको छु । एसएलसी पास गरिसकेपछि तरकारी खेतीमा लागेको हुँ । तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी गर्छु ।

सबै खर्च कटाएर वार्षिक ८ लाख बचत हुन्छ ।’ चौधरीले भने, ‘चारजनाको परिवार छ । अन्य रोजगारी केही पनि छैन् । मेरो रोजगारी भनेको यही नै हो । बच्चाहरुको पढाइलेखाइदेखि लिएर सबै घरखर्च यसैबाट चलाएको छु ।’ तत्कालिन कृषि विकास कार्यालय कैलालीले दिएको ३ महिने आइपिएम तालिमबाट उत्प्रेरित भएर व्यवसायिक तरकारी खेतीमा लागेको उनले बताए । उमेरले ४० वर्षीय चौधरीले भने, ‘म पढिराखेकै थिए । जब मैले आइपीएम तालिम लिए त्यसपछि मलाई कृषि क्षेत्रमै केही गर्नुपर्छ भन्ने ल्याग्यो र तरकारी खेती सुरु गरे ।’

भेटेरीनरी जेटिए पढेका चौधरी पशु क्षेत्रका प्राविधिक भएपनि कृषि क्षेत्रमा लागेको बताउछन् । उनले ‘हुन त म पढाइको हिसावले पशु क्षेत्रको प्राविधिक हुँ । मैले भेटेरिनरी जेटिए पास गरेको छु । जागिर खान खोजेको भए अहिले जागिरे पनि हुन्थे होला । तर,कृषि क्षेत्र तिर लागे जागिरभन्दा यसैमा राम्रो आम्दानी गरेको छु ।’ ‘रोजगारी सृजना गर्नुपर्छ र उद्यमी बन्नु पर्छ भन्ने मेरो सानैदेखिको धारणा हो ।’ उनले भने ‘त्यसैले मैले अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा केही गर्नुपर्छ भनेर यसमा लागेको हुँ ।’

उनले आफ्नो कृषि फर्ममा २ जनालाई नियमित रोजगारी पनि दिएको बताए । उनले भने ‘म आफू पनि स्वरोजगार भएको छु । २ जना स्थानीयलाई पनि रोजगारी दिएको छु । उहाँहरुलाई प्रतिव्यक्ति दैनिक पाँच सयका दरले ज्याला दिने गरेको छु ।’ ‘बाह्रै महिना सिजनअनुसारका तरकारी लगाउँछु । तरकारी बिग्रिने पनि हुँदैन । लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो ।’ उनले भने ‘तरकारी बारी कहिल्यै खाली हुँदैन् ।

काक्रा,फर्सी,पालङ,बोडीलगायतका तरकारी हुर्किदै छ । केही समयपछि बेच्न सुरु हुन्छ । अहिले आलु,बन्दा,काउली,टमाटरलगायतका तरकारी बिक्री गरेर सकिएको छ ।’ चौधरीले भने ‘बजारको समस्या हुँदैन् । धेरैजसो होलसेल व्यापारीहरु बारीमै आएर तरकारी लैजानु हुन्छ । नजिकैको धनगढीको हाट बजारमा लगेर पनि बिक्री गर्छु ।’ केही तरकारी आफ्नै होटलमा पनि खपत गर्ने गरेको उनले बताए । उनले भने ‘मैले होटल व्यवसाय पनि गरेको छु । त्यहाँ पनि तरकारी आफ्नै बारीको जान्छ । आलु मात्रै ७÷८ क्वन्टिल होटलमा खपत हुन्छ ।’

उनले तरकारी खेतीसँगै केरा र मेवा खेती पनि गर्दै आएको बताए । उनले भने ‘बिगत ३ वर्षदेखि ७ कठ्ठा जमीनमा केरा खेती गरेको छु । तरकारी खेतीसँग मेवा पनि रोपेको छु ।’ ‘यसबाट पनि राम्रै आम्दानी हुने गरेको छ । उनले भने ‘केराबाट वार्षिक १ लाख ५० हजार बढी हजार आम्दानी हुने गरेको छ । अब यसलाई विस्तार गर्ने योजनामा छु ।’ उनले भने ‘यो बर्ष नै १ विगाहा जग्गामा केरा खेती विस्तार गर्दै छु । फागुनबाट बेर्ना रोप्ने तयारी छ ।’

एक विगाहामा केरा खेती गर्न सके वार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्न सकिन्छ । यसको बजार पनि राम्रो छ ।’ उनले भने ‘केराखेती विस्तारपछि थप ५ जना जतिलाई रोजगारी दिने सोच बनाएको छु ।’  मेवा पनि अब १ हजार बोट लगाउने तयारीमा रहेको चौधरीले बताए । एउटा क्षेत्र रोजेर लगनशील भएर काम गरे रोजगारीका लागि भौतारिनु पर्ने अवस्था नहुने उनको भनाइ थियो ।