कैलालीमा चार सय भन्दा बढी गाईगोरुका कंकाल फेला
2024/02/22, 9:30
 
ss

 कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायीक बनमा ४ सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन । गोदावरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको लक्ष्मी महिला सामुदायीक बनभीत्र रहेको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा ४ सय गाईगोरुका कंगाल फेला परेका हुन । 

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको उपस्थितिमा साउनको २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायीक बनभीत्र पशुचौपाया राख्ने निर्णय गरेको हो । सामुदायीक बनभीत्र तारबार लगाएर राखिएका ५ सय भन्दा बढी चौपाया मध्ये ४ सय बढी मरेका हुन ।

स्थानीयको बालीनाली नस्ट गर्न थालेको भन्दै २०८० सालको साउनको २ गते वडाध्यक्ष रामलाल रानाको रहोबरमा बसेको सामुदायीक बनको माशिक बैठकमा, सामुदायीक बनभीत्र तारबार गरी छाडापशुचौपाया राख्ने र हरेक घरबाट महिनामा सय÷सय रुपैया उठाएर हेरालु राख्ने निर्णय भएको थियो । 

लक्ष्मी सामुदायकि बनकी अध्यक्ष अनीता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट सय रुपैया महिनाको संकलन गरेर ६ जना हेरालु समेत राखिएको बताईन । ‘८/८ हजार तलब दिने गरेर ८ जना हेरालु राखियो, चिसोमा बस्ने ओत भएन, खाना पनि भएन, अनी मर्न थाले’ उनले भनिन । 

अहिले ४ सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष राना आत्तिएका छन । उनले आफुलाई पशुचौपाया मरेको बारे कसैले जनाकारी नगराएको बताए । भदौदेखि मर्न लागेका चौपाया माघ सम्म तारन्तार मर्दै गएपनि वडाध्यक्ष रानाले आफुलाई कुनै जानकारी नै भएको बताए ।
वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि र पारी छ । वडा कार्यालयमा एकजना पशु स्वास्थ्यकर्मी पनि छन । हरेक दिन हेरालुहरुले गाई मरिरहेको खबर गाउँभरी फैलिएको छ । स्थानीय ७३ वर्षका डिल्ली सिह खत्री भन्छन, ‘भदौ देखि ने कान्जी हाउसका गाईहरु मर्न थालेका छन भन्ने सुनेको हुँ ।’ तर वडा कार्यालयले भने त्यसमा लापरवाही गरेको देखिएको छ । 

वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफुलाई थाहा नभएको बताए । वडा कार्यालयको भवनमै रहेको पशुपंक्षी उपचार केन्द्रबाट कान्जी हाउस बढीमा ५ सय मिटरको दुरीमा रहेको छ ।  स्थानीय  विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र उनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए । ‘कान्जी हाउसको सबै जिम्मेवारी नगरपालिका र वडाको होईन रु अहिले वडाका कसैले पनि हामीलाई थाहा छैन भनेर पन्छिरहेका छन । यो सुनियोजित रुपमा गरिएको गौहत्या हो’ विष्टले भने ।

सामुदायीक बनभीत्र २÷३ कट्ठा जती जग्गामा तारबार हालिएको छ । त्यसभीत्र ५ सय भन्दा बढी पशुचौपाया राखिएका थिए । जसमध्ये ४ सय मरिसकेका छन । मरेका केही पशुचौपाया तारबार भन्दा बाहिर यत्रतत्र छरेर फालिएका छन भने आधा भन्दा बढी तारबारभीत्रै छन ।
तारबारभीत्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन । भदौबाट मर्न थालेका पशुचौपाया माघ सम्म लगातार मरेका हेरालु नर बहादुर बोहराले बताए ।

‘दानापानी भएन, चिसोमा ओत लाग्ने ठाउँ भएन । शरिरमा फोका फोका पनि आए । त्यसपछि चौयापा मर्न थाले’ उनले भने । कार्तिक १५ गतेदेखि हेरालुको रुपमा काम गर्न थालेका बोहराले सबैभन्दा बढी गाईगोरु माघमा मरेको बताए । ‘चिसो भयो, चरन क्षेत्र पनि सुख्खा बगर जस्तै छ, खानेकुरा भएन’ उनले भने । हिउँदको कठयाङ्ग्रीदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानका लागि एक सिन्का पनि पराल छैन । 

४ सय बढी पशुचौपाया मरेको खबर आएपछि बुधबार कैलालीका प्रमुुख जिल्ला अधिकारी सहितका अधिकारीहरुले कान्जी हाउसको निरिक्षण गरेका छन । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मीश्रले कान्जी हाउस सञ्चालनमा स्थानीय तहको चरम लापरवाही देखिएको  र त्यसको छानविन हुने बताए । ‘मैले स्थानीय गोदावरीको मेयरसाप सँग पनि कुरा गरेको छु । पशुचौयापा मर्नुको कारण बारे पशुचिकित्सकको नेतृत्वमा अध्ययन टीम बनाईन्छ’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मीश्रले भने ।