जब किसानले अत्तरिया चोकमा दुध फाले
2024/03/01, 11:56
 
ss

समयमै दुधको मुल्य नपाएको भन्दै सुदुरपश्चिमका दुग्ध उत्पादक किसान आन्दोलित बनेका छन् । दुग्ध वितरण आयोजना धनगढी वितरण केन्द्र अत्तरियाले किसानको दुधको मुल्य दिन आनाकानी गरेको भन्दै किसानहरुले सडकमा दुध फालेर बिरोध समेत गरेका हुन् । सरकारले नेपाली दुधको मुल्य नदिएर नेपाली उत्पादनलाई निरुत्साहित गर्दै भारतिय दुध आयातमा सहजीकरण गरेको आरोप लगाउँदै उनिहरु आन्दोलनमा उत्रेका हुन् ।

अखिल नेपाल किसान महासंघको नेतृत्वमा आज कैलालीको अत्तरियामा किसानहरुले सरकार बिरुद्ध आन्दोलन गरेका छन् । सरकारले दुधको मुल्य दिन ढिलाई गरेको भन्दै उनिहरुले १ घण्टा चक्का जाम संगै सरकार बिरुद्ध नाराबाजी समेत गरेका हुन् । लामो समयदेखि दुध बेचेको पैसा नपाएपछि यहाँका दूध उत्पादक किसानहरूले बिहीबार बिहान १० बजेदेखि पूर्व–पश्चिम राजमार्गमा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले सुदूरपश्चिम प्रदेशमा मात्रै दूध उत्पादक किसानको करिब ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको कारण बाध्य भएर विरोध स्वरूप चक्काजाम गरेको किसान मोहन जोशीले बताए ।

असोज देखि हाल सम्म सुदूरपश्चिमका किसानले दुधको पैसा पाएका छैनौ उनले भने “गाई भैसीमा लगानी गरेपनि त्यो अनुसारको राज्यबाट पाउँनु पर्ने रकम नपाउँदा समस्या भएको छ, दैनिक रुपमा गाई भैसी लाई आहार दिन पैसा आवश्यक पर्ने भएपनि त्यो अनुसारको फाईदा अहिले लिन सकिएको छैन ।” सरकारी स्वामित्वका डेरीहरूले किसानको बक्यौता रकम पनि नदिने र किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा हामीहरु दुध फाल्न बाध्य भएका हौँ अर्का किसान पदमराज गिरिले भने “हामी अहिले गाई बस्तुलाई आहार दिन समेत सकिरहेका छैनौँ, उत्पादित दुधको भुक्तानीनै रोकिदा ब्यवसायनै चौपट हुने सम्भावना छ, हामीले कसलाई गुहार्ने ।”

भदौको दोस्रो साता यता फागुन १५ गते सम्मको देशभरका किसानहरूको करिब ७ अर्ब डीडीसी माथि बक्यौता रहेको छ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन किसानहरूले आज १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेको र सरकारले वेवास्ता गरे थप आन्दोलन चर्काउने किसान महासंघले चेतावनी दिएको छ । महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष मदनराज रेग्मीले किसानका सात बुँदे माग राख्दै अत्तरियामा किसान संगै प्रदर्शन गरेको बताए । उनका अनुसार महासंघले किसानहरुलाई भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, किसानको दूध खरिद गर्नुपर्ने, दूधको विक्री मूल्य निर्धारण गर्नुपर्ने, सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरी खरिदको व्यवस्था गर्नुपर्ने, विमित किसानको विमा भुक्तानी गरी भुक्तानी नदिने विमा कम्पनीलाई कारबाही गर्नुपर्ने, सहुलियत कृषि कर्जा प्रभावकारी ढंगले लागु गर्नुपर्ने र उत्पादनमा आधारित कृषि अनुदान व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

दुग्ध वितरण आयोजना धनगढी वितरण केन्द्र अत्तरियाले माघ मसान्तसम्मको मात्रै ४ करोड बढी किसानको रकम भुक्तानी रहेको जनाएको छ । चिसोयाममा दही तथा मही संगै दुधबाट बनाइएको पाउडर समेत बिक्रि कम हुने भएका कारण राजश्व उठ्न नसकेको धनगढी वितरण केन्द्र अत्तरियाका प्रमुख चन्द्र मोहन लेखकले बताए ।