प्रतिकुल मौसमले गौरीगंगा गोल्डकप स्थगित, अब फागुन २२ गतेदेखि हुने
2024/03/03, 9:43
 
ss

कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप स्थगित भएको छ । प्रतिकुल मौसमका कारण उद्घाटनको तयारीमा रहँदा पनि गोल्डकप स्थगित गरिएको आयोजकले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । कैलालीमा लगातार बर्षा भएपछि उद्घाटन समारोह सहित प्रतियोगिता तीन दिन पछि सारिएको छ । यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गरिने आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । यसअघि प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने तय भएको थियो । 

प्रतियोगिता तीन दिन पछाडी सरेपनि खेल तालिका भने यथावत राखिएको छ । यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरु आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबका बीचमा हुने छ । गौरीगंगाको लिक्मा खेल मैदानमा सञ्चालन हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।  

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको जानकारी दिए ।