चौथो गौरीगंगा गोल्डकप सुरु 
2024/03/05, 8:40
 
ss

कैलालीको गौरीगंगामा चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० सुरु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित खेल मैदानमा चौथो संस्करणको गौरीगंगा गोल्डकप सुरु भएको हो । प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले उद्घाटन गरे । 

आयोजक गौरीग्ंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पमुख अतिथिको रुपमा बोल्दै कानुन मन्त्री भट्टले खेलकुद प्रदेश र स्वास्थ्यका लागि अपरिहार्य रहेकोले यसको विकास गर्नुपर्नमा जोड दिए । उनले खेलकुद क्षेत्रलाई उकास्नका लागि प्रदेश सरकार पनि लागिपरेको बताए । 

सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम र सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह विशिष्ठ अतिथि रहेको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए । यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता  प्रतिकुल मौसमका कारणले तीन दिन पछि सारिएको हो । प्रतियोगिता अब चैत १ गतेसम्म आयोजना हुने छ ।  कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबले प्रतिस्प्र्धा गरेका छन् । खराब मौसमका कारणले दुबै टोली बीचको खेल स्थगित गरिएको छ । पहिलो हाफ बराबरी खेलेका टोलीबीचको दोस्रो हाफको आधा खेल साँझ परेपछि स्थगित गरिएको हो । बाँकी समयको खेल भोली विहान ११ बजे खेलाईने भएको छ । प्रतियोगिता अन्तर्गत भोली हुने अर्को खेलमा विएस १५ र स्टार सिटी ब्वाईज युनियन बीच प्रतिस्पर्धा हुनेछ । 

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ ।