सुदुरपश्चिममा थप १११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ सय नाघ्यो
2020/07/07, 4:36
 
corona

सुदुरपश्चिममा एक सय ११ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल, डडेल्धुरा अस्पताल र धनगढीमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा आज एक सय ११ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलावर भएको परीक्षणमा अछाम र बैतडीका ११÷११ र डोटीका सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार धुलिखेल अस्पताल धुलिखेलमा भएको परीक्षणमा बाजुराका ५४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज डडेल्धुराकै ६ जनामा कोरोना पुष्टि भएको उनले बताए। 

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछाम जिल्लाका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ। २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय दुई पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने नौ सय चार जना डिस्चार्ज भएका छन्।