सुदुरपश्चिम सरकारले सागका पदक विजेता खेलाडीको पुरस्कार रकम खातामा पठाईयो, मुख्यमन्त्री कपका खेलाडीलाई वेवास्ता
2020/07/07, 6:28
 
cm cup

घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीकै बैंक खातामा पठाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभएपछि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाएको हो । प्रदेश सरकारले मंगलबार ३८ जना खेलाडीको बैंक खातामा रकम पठाएको खेलाडीको कागजात संकलन गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश कुमार चन्दले बताए । चालु आर्थिक वर्ष सकिनै लागेको र छिट्टै महामारी न्यूनीकरण हुने संकेत नदेखिएकाले प्रदेश सरकारले खेलाडीको बैंक खातामै रकम पठाउने निर्णय गरेको थियो । प्रदेश सकारले रकम पठाउन बाँकी रहेका खेलाडीहरुलाई चाँडै सम्पर्क गर्न आह्वान गरेको छ । यसका लागि चन्दले बाँकी रहेका पदक विजेता खेलाडीको कागजात संकलन गरिरहेको जानकारी दिए । 

दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीले जनही २ लाख, एक स्वर्ण जित्ने खेलाडीलाई १ लाख ५० हजार, रजत विजेता खेलाडीलाई १ लाख र कास्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद प्रप्त गरेका छन् । चन्दले निशा रावल र गौरीका सिंहको नागरिकता सुदूरपश्चिमबाट नभएकाले दिने नदिने भन्ने विषयमा अन्योल भएको बताए । गत पुस १ गते बसेको मन्त्री परिषद्को बैठकले सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले सागमा १३ औं सागमा नेपालले हालसम्मकै सर्वाधिक ५१ स्वर्ण जित्दा सुदूरपश्चिमका खेलाडीले मात्र १२ स्वर्ण जितेका थिए । त्यस्तै २९ रजत र २५ कास्य पदक जितेको थिए ।

यता सागका खेलाडीहरुको खातामा पुरस्कार रकम पठाईदैं प्रदेश सरकारले नै आयोजना गरेको मुख्यमन्त्री कपका खेलाडीहरुलाई भने अझै वेवास्ता गरिएको छ ।  सुदुुरपश्चिमको प्रतिनिधत्व गर्दै मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई भने नगद पुरस्कार दिन मन्त्रालयले आनाकानी गरिरहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा अघिल्लो आर्थिक बर्षमा भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो स्थान हासिल गरेको थियो । प्रथम हुने प्रदेशलाई नगद १५ लाख दिने भनिएको पुरस्कार रकम दिन मन्त्रालयले वेवास्ता गरिरहेको छ ।

२०७५ सालको चैत १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको पुरस्कार राशि डेढ बर्षसम्म पनि खेलाडीले पाएका छैनन् । फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेट गरी चार वटा विधामा भएको मुख्यमन्त्री कपमा प्रथम, द्वितीय र तृतीय हुने टिमका खेलाडीहरूले पुरस्कारको राशी नपाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सालको चैत १ देखि धनगढीमा पहिलो मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, महिला क्रिकेट, फुटबल र ब्याडमिन्टनमा स्वर्ण पदक जित्दै सातै प्रदेशमा पहिलो भएको थियो । विजेतालाई दिने भनिएको १५ लाख रुपैयाँ पुरस्कार राशि खेलाडीले अहिलेसम्म पनि नपाएका हुन् । ‘हामीले अहिलेसम्म पहिलो भएको १५ लाख रकम पाएका छैनौं, कति पटक सामाजिक विकास मन्त्रालयमा गइसक्यौं, हुन्छ हुन्छ भन्छन्, तर खै अहिलेसम्म सुको पाइएको छैन’ सुदूरपश्चिम प्रदेशकी महिला क्रिकेट टोलीकी कप्तान जानकी भट्टले भनिन्—‘कहिले खेलाडी कल्याण कोष बनाउने भन्छन्, कहिले केही भन्छन । केही न केही वहाना बनाएर खेलाडीलाई पुरस्कार दिनबाट रोकिरहेका छन् । यो कोरोनाको महामारीको समयमा दिएमा खेलाडीहरुलाई निकै ठुलो राहत हुने थियो ।’

प्रदेश सरकारले, दोस्रो र तेस्रो हुने टिमलाई दिने भनिएको १० लाख र पाँच लाख रुपैयाँ भने सम्बन्धित प्रदेशको सामाजिक मन्त्रालयको खातामा पठाइदिएको छ । उनीहरुले रकम पाउने वित्तिक्कै खेलाडीहरुलाई दिईसकेको छ । तर सुदुरपश्चिम सरकारले नदिएको व्याटमिन्टनका प्रशिक्षक मेघराज कठायतले बताए । ‘सागका खेलाडीलाई सरकारले पनि पैसा दिएको छ । प्रदेशले पनि उनीहरुलाई दिएको छ । प्रदेशका लागि खेल्ने खेलाडीको वारेमा कुनै मतलब गरिएको छैन् ।’ प्रशिक्षक कठायतले भने–‘सयौं पटक भनिसक्यौ, हरेक खेलकुदको कार्यक्रममा कुरा उठाउँछौं दिने नाम नै लिदैनन् । अहिलेको लकडाउनको वेला खेलाडीहरुले रकम पाए साह्ै राहत मिल्थ्यो नि तर प्रदेशका खेलाडीहरुलाई हेपिएको छ ।’

१५ लाखको हकदार सुदूरपश्चिम प्रदेशका खेलाडीले डेढ बर्षदेखि सो रकम नपाएको गुनासो गरेका हुन् । ‘हामीले मेहना ग¥यौं, गोल्ड मेडल पनि ल्यायौं तर अहिले पहिलो भएको १५ लाख पुरस्कार पाइएको छैन’ १९ वर्षमुनिको ब्याडमिन्टनमा स्वर्ण जितेका देवराज रानाले भने । उनले खेलाडीले मेहनत गरेकै कारण सुदूरपश्चिम प्रदेश पहिलो हुन सफल भएकोमा त्यो १५ लाखको पुरस्कार राशि खेलाडी, कोच र टिम म्यानेजरलाई बाँड्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेशले आयोजना गरेको प्रथम मुख्यमन्त्री कपमा फुटबलमा पनि सुदूरपश्चिमले गोल्ड पाएको थियो । ‘फुटबल आफैंमा कति खर्चिलो खेल हो, प्रतियोगिताभरि खेलेर ५÷७ हजार मात्रै पाएकोमा पहिलो भएर १५ लाखबाट केही रकम पाइएला भन्ने आशा थियो तर डेढ बर्षसम्म त्यसको कुनै टुंगो छैन’ सुदूरपश्चिम प्रदेशका फुटबल टोलीका कप्तान गजेन्द्र शाहीले भने ।

यता खेलाडीहरुको हकहितमा काम गर्दै आएको नेपाल राष्टिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीले पनि प्रदेशका खेलाडीहरुलाई पुरस्कार राशी दिन माग गरिरहेको जनाएको छ । आईतबारसम्म नदिएमा आन्दोलनमा जाने चेतावनी दिएका खेलाडी संघका अध्यक्ष प्रकाश चन्दले दबाबमुलक कार्यक्र सहित मन्त्रालयलाई भनिरहेको बताए । ‘हामीले प्रदेश खेलाडीहरुलाई पनि मुख्यमन्त्री कपको पुरस्कार दिन आग्रह गरिरहेका छौं ।’ उनले भने–‘अब दुई दिन कुर्छौ ।’ दोस्रो र तेस्रो हुने प्रदेशको रकम पठाइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले, पहिलो भएको सुदूरपश्चिम प्रदेशको १५ लाख रकममध्ये कर कट्टा गरेर ११ लाख २५ हजार रकम गत बर्षको साउन २० गते मात्रै क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाएको जनाएको छ । ‘हामीले पहिलो हुने प्रदेशको पुरस्कार राशि १५ लाखमा कर कट्टा गरी ११ लाख २५ हजार क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइदिएका छौं, अब प्रदेश सरकारले त्यो रकम खेलाडीलाई बाँड्ने वा कल्याणकारी कोष बनाउने निर्णय देला । हामी पनि त्यो रकम दिने तयारीमा लागिरहेका छौं । कसरी दिने भन्ने निर्णय हुन वाँकी रहेको छ ।’ सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले भने । पहिलो पटक आफ्नै प्रदेशमा आयोजना भएको प्रतियोगितामा पहिलो भएर पनि पुरस्कार राशि नपाएको भन्दै खेलाडीहरू निराश भएका छन ।