सुदूरपश्चिम विजयी
2024/03/23, 5:28
 
ss

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको शुक्रबार सुदूरपश्चिम प्रदेश र भारत लखनउको पीएसआर ग्रुप विजयी भएका छन् ।  पहिलो खेलमा लखनउले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनले हरायो । लखनउले दिएको २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेट क्षतिमा १ सय २५ रनमात्रै बनाउन सक्यो । कप्तान दीपेश श्रेष्ठले ३२, रोशन झाले ३१ र विकलकुमार गुप्ताले २१ रन बनाए । लखनउका कार्तिक यादवले ८ रन खर्चिदै २ विकेट लिए । सरिम र प्रिन्सले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पीएसआरले दुई खेलाडीको अर्धशतकमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । निखिल रावले ६९ रन बनाए । उनले २९ बलमा ५ छक्का र ७ चौका प्रहार गरे । उनी नयन प्रधानको बलमा रोशन झाबाट समातिए । कप्तान तथा विकेटकिपर सहिन हसनले ५५ रन जोडे । सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा ७ चौका र एक छक्का प्रहार गरे । समीर अन्सारीले २४, अमित शर्माले १२ रन बनाए । छैटौं विकेटमा सर्वाधिक ५५ रनको साझेदारी भयो ।

भरतपुरका नयन प्रधानले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । कप्तान दीपेश श्रेष्ठले २ र गौतम केसी र सौगात ढकालले १–१ विकेट लिए । दोस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७ रनले हरायो । १८४ रनको लक्ष्य पाएको मधेशले ९ विकेटमा १३६ रन मात्र बनाउन सक्यो । मधेशका ओपनर साहिल पटेलले तीन चौकासहित २५ रन बनाए । नीरज यादवले २४ र रोशन विश्वकर्माले २३ रन बनाए । ३३ रनमा पहिलो विकेट गुमाएको मधेश त्यसपछि सम्हालिन सकेन । सुदूरपश्चिमका दीपक बोहराले २२ रन खर्चिदै ३ विकेट लिए । युवराज खत्री र भोजराज भट्टले समान २ विकेट लिए । नरेन साउद र वसन्त खत्रीले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाई १ सय ८३ रन बनायो । वसन्त कार्कीले ४३ रन बनाए । २७ बल खेलेका वसन्तले ३ चौका र २ छक्का प्रहार गरे । टेक रावतले ३४, खडक बोहराले ३१, ओपनर दीपक बोहराले २७ रन जोडे । वसन्त र टेकले ५५ रनको साझेदारी गरेका थिए । मधेशका प्रदीप पासवानले २ विकेट, प्रतिभ यादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए ।