बैतडीमा खानेपानीको मुहानमा बगेर खेर गइरहेको पहेँलो खनिज भेटिएको छ । यस जिल्लामा फलामखानी, कृषि मल बनाउन प्रयोग हुने फस्फोराइट खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आइरन ओर’ पाइने गरेको छ ।
पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङको खनिज पानीमा बग्ने गरेको पाइएको छ । स्थानीयले खनिज रहेको पानीको मुहाननजिकको कालोमाटो चोटपटक लागेको ठाउँमा आयुर्वेद औषधीका रूपमा लगाउने गरेका छन् । चोटपटक लागेर मर्केको ठाउँमा यहाँको कालोमाटो लगाएमा छिट्टै निको हुने स्थानीयले विश्वास गर्दै आएका छन् । स्थानीयले यो खनिजलाई गन्धक र अमरक भन्ने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले बताए ।
कालोमाटो चोटपटक लागेमा वा मर्केको ठाउँमा औषधीका रूपमा प्रयोग गर्ने चलन रहेको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । खानीबारे विस्तृत अध्ययन हुन सकेमा वास्तविकता थाहा हुने अपेक्षा उनले राखे। खानीबाट लगेको माटो चोटपटक लागेका ठाउँमा औषधीका रूपमा प्रयोग गर्न टाढाका मानिस पनि आउने गरेको स्थानीय जानकार गगन नायकले बताए ।
यो खनिजलाई चोटपटक लागेका मानिस, लडेर घाइते भएका पशुचौपाया र मुखमा घाउखटिरा भएमा औषधीका रूपमा प्रयोग गरिँदै आएको थप जानकारी उनले दिए । यस जिल्लामा जडीबुटीलगायत विभिन्न किसिमका खानी भए पनि विस्तृत अध्ययन र खोज अनुसन्धान भने हुन नसकेको स्थानीयले बताएका छन् । उक्त खानीका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरिएको उपप्रमुख बोहोराले बताए ।
यो खनिज काठमाडौँ लगेर परीक्षण गर्दा ८५ प्रतिशत सिल्भर रहेको प्रारम्भिक जानकारी आएको छ तर पनि विस्तृत अध्ययनका लागि टोली नै पठाइदिन मन्त्री भण्डारीसँग आग्रह गरिएको स्थानीय जनप्रतिनिधिले बताएका हुन् । सिगास गाउँपालिका–१, सुङ्गलखाको लोहारपानीमा तीन वर्षअघि स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने ‘म्याग्नेट आइरन ओर’ फेला परेको थियो । दोगडाकेदार–३ मा कृषि मल बन्ने फस्फोराइट खानी रहेको खानी तथा भूगर्भ विभागले नै पुष्टि गरिसकेको छ ।
दोगडाकेदारमा फेला परेको फस्फोराइट खानी सञ्चालन गर्न भूगर्भविद्को टोलीले दुई वर्षअघि ५५ दिन लगाएर खानीमा ड्रिल गरेर मल बन्ने सम्भावना औँल्याइएको थियो तर खानी सञ्चालन हुन नसकेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । त्यसै गरी पुर्चौडी नगरपालिकामा फलामखानीका चार सयभन्दा बढी खाडल खनिएका छन् । द्वन्द्वकालमा बन्द गरिएको उक्त खाडलबाट स्थानीयलाई फलाम निकाल्न बन्द गरिएको छ । दशरथ चन्द नगरपालिका–१०, मौराभिरमा शिलाजितको खानी रहेको स्थानीयले बताएका छन् । गोरखापत्रबाट