बझाङ उपनिर्वाचनः उम्मेदवारको प्रचारप्रसार तीव्र, मुख्य प्रतिस्पर्धी दलबिच चुनौती
2024/04/17, 1:21
 
ss

बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिँदै गर्दा त्यसैको तयारी गर्दै दलका कार्यकर्ता उम्मेदवारसहित चुनाव प्रचार प्रसारका लागि गाउँ छिरेका छन्। वैशाख १५ मा हुने उपनिर्वाचनबाट आफ्नो पक्षमा मत पार्न र जिताउन कार्यकर्ता तथा दलका उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका हुन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्नो उम्मेदवारको प्रचारप्रसार तीव्र पारेका छन् । यस्ले सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने बताइएको छ । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले सिंहका छोरा अभिषेकबहादुरलाई उम्मेदवार बनाएको छ ।

उनलाई जिताउन पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य रणबहादुर रावललगायत कांग्रेस नेताहरू घरदैलो र भेटघाटमा व्यस्त छन् । युवा उम्मेदवार भएकाले कांग्रेसको पक्षमा जनलहर देखिएको नेता रावलको दाबी छ । यो निर्वाचन क्षेत्रमा लामो समयदेखि पकड रहेको एमाले २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनसँग पराजित भएको थियो । जिल्ला अध्यक्ष दमन भण्डारीलाई उठाउँदै एमाले त्यो हारको बदला लिने दाउमा छ । अहिले एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीलगायत नेताहरू बझाङ पुगेका छन् ।

‘प्रदेशसभाको अंकगणितको सवाल त छँदै छ । यो क्षेत्र पहिलादेखि नै एमालेको पकड भएको क्षेत्र पनि भएकाले हामी जित्नेमा विश्वस्त छौं,’ एमाले केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने ।मुख्य प्रतिस्पर्धी ठानिएका कांग्रेस, एमालेलाई माओवादी र एकीकृत समाजवादीले मत काट्ने चिन्ता छ । समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार छन् । पार्टी विभाजनअघि जिल्लामा एमालेको नेतृत्व गरेका सिंहलाई एमालेबाट धेरै मत आउने अनुमान छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहकै वडावासी रहेको र त्यहाँ राम्रो पकड भएकाले सिंहलाई कांग्रेस समर्थकहरूबाट पनि मत आउने समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य सोनु सिंहले दाबी गरे ।

माओवादी केन्द्रका मतदाताले यो क्षेत्रमा १० वर्षपछि आफ्नो चुनाव चिह्नमा मत हाल्दै छन् । २०७० को संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दिएको माओवादीले त्यसयता यो निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थिएन । माओवादीका मतदाताले गठबन्धन भएका कारण २०७४ मा एमाले र २०७८ मा कांग्रेसलाई मतदान गरेका थिए । माओवादीबाट उम्मेदवार जनक बुढाले आफू बझाङी जनतासँग नजिक रहेको दाबी गरे । ‘संविधानसभा सदस्यदेखि प्रधानमन्त्रीको टिममा बसेर काम गरेको अनुभव छ । यस अर्थमा म नै सबैभन्दा बलियो उम्मेदवार हो,’ उनले भने ।

एमाले र माओवादीका उम्मेदवार पनि एउटै पालिकाका भएका कारण मत बाँडिन सक्ने सम्भावना रहेको छ । एमालेका भण्डारी र माओवादीका बुढा दुवै छविसपाथीभेरा गाउँपालिकाका बासिन्दा हुन् । २०७९ को निर्वाचनमा आफ्नै दलबाट अन्तर्घात भएको कांग्रेस, एमालेका नेता कार्यकर्ताहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन् । यो निर्वाचनमा पनि त्यसो हुन सक्ने शंका दुवै दलको छ ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछिका निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए । विगतको गठबन्धन भत्किएकाले निर्वाचन परिणाम आकलन गर्न सहज भने छैन् । पहिलाको निर्वाचनका आधारमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएका छन् ।