कैलालीको बिभिन्न क्षेत्रमा आगलागी,आठ बिघामा लगाएको गहुँबाली नष्ट
2024/04/21, 12:39
 
ss

कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा खेतमा भित्र्याउन ठिक्क भएको गहुँबालीमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । प्रहरीले संकलन गरेको विवरणअनुसार करिब आठ बिघामा लगाएको गहुँबाली आगलागीले नष्ट भएको छ । गहुँ काटेर भित्र्याएको ठाउँमा समेत करिब ५० बिघा खेतमा आगलागी भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो बर्दगोरिया गाउँपालिका– ६, स्थानीय विपना गड्सेलाले बारीमा लगाएको आगो गहुँको खेतमा सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए । खेतमा सल्किएको आगोसँगै जोडिएको जोशीपुर गाउँपालिका– ६, सिमरी र पकडिया गाउँसम्म पुगेको थियो । आगलागीबाट जोशीपुरको सिमरी र पकडिया गाउँका १५ किसानको करिब एक सय ४४ कट्ठा खेतमा लगाएको गहुँबाली नष्ट भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार एकै किसानको अधिकतम एक बिघासम्ममा लगाएको गहुँबाली जलेर नष्ट भएको छ । करिब ५० बिघाजति खेतमा आगलागी भएकोमा कतिपय किसानले गहुँ भित्र्याइसकेको प्रहरीले जनाएको छ । काट्न बाँकी, काटेर खेतमा छोडेको र थ्रेसिङका लागि खेतमै थुपारेर राखेको गहुँ जलेर नष्ट भएको वडाध्यक्ष भोजराज डगौराले बताए । ‘गहुँ काटेर भित्र्याइसकेको ठाउँमा पनि नल थियो । गर्मीको समयमा दिउँसो अलिअलि हावा पनि चलेको थियो,’ उनले भने, ‘सुकेको गहुँ र नलमा सल्केको आगो नियन्त्रण गर्नै कठिन भयो ।’


टीकापुर, लम्कीचुहा र घोडाघोडी नगरपालिकाबाट आएका तीनवटा दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा करिब साढे दुई घन्टापछि आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष डगौराले बताए । उनका अनुसार खेतमा भीषण आगलागी भएपछि गाउँमा दुई सयभन्दा बढी मानिस जम्मा भएका थिए, तर दमकलविना आगो नियन्त्रणमा आउन सकेन । ट्याक्टरले खेत जोतेरसमेत आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

बर्दगोरियाको जोकहीँका तीनजना किसानको करिब एक बिघा खेतको गहुँ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ । बर्दगोरिया–६, का वडाध्यक्ष भोजराज डगौराले छिमेकी पालिकाबाट दमकल आउन समय लागेकाले बढी क्षति भएको बताए । स्थानीयका अनुसार जोशीपुर र बर्दगोरिया गाउँपालिकासँग दमकल छैन । आगो निभाउनका लागि ठूलो संख्यामा स्थानीय बासिन्दा र सुरक्षाकर्मी जम्मा भए पनि गर्मीयाममा तीव्र रूपमा फैलिएको आगो निभाउन नसकिएको वडाध्यक्ष डगौराले बताए । ‘काटेर थ्रेसिङका लागि खेतमै थुपारेको गहुँ पनि बचाउन सकिएन,’ उनले भने, ‘आगलागीले गहुँबालीमा ठूलो क्षति पुर्‍यो । किसान मारमा परेका छन् ।’

सिमरीका किसान फुलराम चौधरीले आफूले १९ कट्ठामा लगाएको गहुँ आगलागीबाट नष्ट भएको बताए । ‘अधिया लिएर गहुँ लगाएको थिएँ, वर्षभरि खाने गुजाराको माध्यम त्यही थियो,’ उनले भने, ‘वर्षभरिको मिहिनेत र लगानी नष्ट भयो ।’ लगाएको बाली नष्ट भएपछि खेतीमा निर्भर १० जनाको परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको उनले बताए । ‘आधा काटेर खेतमै छोडेको थिएँ, आधा गहुँ काट्नै बाँकी थियो,’ सिमरीकै अर्का किसान रामचन्द्र कठरियाले भने, ‘आगोले सबै नष्ट गरिदियो ।’ आफूले आठ कट्ठामा लगाएको गहुँ जलेर नष्ट भएको उनले बताए । बीउ, मल, खनजोतमा भएको लगानी तथा परिश्रम खेर गएको उनले बताए । स्थानीयका अनुसार सडक परेकाले थप आगलागी फैलन पाएन । ‘सीमरीमा सडक भएकाले आगलागी उता जान पाएन,’ जोशीपुर– ६, का वडासदस्य खडकबहादुर डगौराले भने, ‘सडक नभएको भए गाउँ नै सखाप हुने थियो ।’ नयाँपत्रिकाबाट