रैथाने बाली संरक्षणमा बाजुराका पालिका
2024/04/21, 12:55
 
dd

बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने बालीको संरक्षण अभियानमा जुटेका हुन् । रैथाने बालीमा मानव स्वास्थ्यका लागि पोषकतत्व हुने भएकाले पछिल्लो समय यसको संरक्षण अभियानमा जुटेको यहाँका स्थानीय बताउँछन् । गाउँमा उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो र फापर, उवा, झुमरो, लोकल मकै, जौ राम्रो पोषिलो अन्न मानिन्छ । 

स्थानीयको रोजाइमा भात र गहुँको रोटी मात्र भएकाले यो बाली बिस्तारै लोप हुँदै गएको खप्तडछेडेदह गाउँपालिका स्थानीय दले नेपालीले बताए। उनले भने, “गाउँ बस्ती सबै सडक सञ्जालको पहुँचमा भएसँगै रैथाने बाली हराउन थालेको हो ।” देशका विभिन्न सहर यस्ता अन्नको माग बढ्न थालेपछि उत्पादनमा पनि चाँसो बढ्दै गएको छ । रैथाने बालीले बजारमा राम्रो मूल्य पाउने भएकाले माग अनुसार उत्पादन गर्न सकिने नेपालीले बताए ।

अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा समेत रैथाने बाली पर्न थालेको छ । बाजुराका विभिन्न होटल तथा खाजा घरमा रैथाने बालीका विभिन्न परिकार पाक्न थालेका छन् । स्थानीय तहले पनि रैथाने बाली संरक्षण गर्ने गरी विद्यालयलाई समेत दिवा खाजामा बनाउन लगाउने गरेको छ । विभिन्न रोग र किरा, सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका रैथाले बाली यहाँका हरेक ठाउँमा उत्पादन गर्न सहज छ । 

यी बाली ठाउँ विशेषको स्थानीय हावापानीमा राम्रो उत्पादन हुने भएकाले पछिल्लो समय स्थानीय तहले स्थानीयलाई रैथाने बाली उत्पादनमा उत्पे्ररित गर्दै आएका हुन् । खप्तडछेडेदह, बुढीगङ्गा, त्रिवेणी, हिमाली, गौमुल, बडीमालिका, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दालगायत क्षेत्रमा रैथाने बाली उत्पादन हुन्छ ।

जिल्लाका नौ वटै स्थानीयले पछिल्लो समय रैथाने बाली उत्पादन गर्न किसानका लागि विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । रैथाने बाली खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक भएकाले उक्त बाली संरक्षणका लागि अभियान सुरु गरेको हिमाली गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

उनले भने, “कोदो, फापर, सिमी, जौ गहुँ, मकै, चिनो, कागुनो, भटमास, रातो धानको चामललगायत बाली रैथाने बालीमा पर्छ । 
कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले बालीलाई संरक्षण गर्न अभियान सुरु गरेको रोकायाले बताए ।  गोरखापत्रबाट