बाजुराको बुढिनन्दामा टोलमै पढाइ
2020/07/08, 1:46
 
school

कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ। नगरपालिका–२ को कोल्टीमा रहेको बूढिनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताए। 

लामो समयको लकडाउनले विद्यालय सञ्चालनमा आउन नसकेका कारण विद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि टोल–टोलमा गएर पढाइ शुरु गरेको प्रअ शाहीको भनाइ थियो। असार २ गते सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको थियो। कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा १६५ जना विद्यार्थी यो वर्ष भर्ना भएर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा सात शिक्षक र एक कर्मचारी छन्। सबै आठ जनालाई नै टोलमा परिचालन गरेर पढाइ शुरु गरेको विद्यालयले जनाएको छ। विद्यालय सेवा क्षेत्रभित्रका आठ बस्तीमा पढाइ सञ्चालन गरिएको छ। प्रत्येक बस्तीमा एक एक शिक्षक पुगेर सहजीकरण तथा पढाइ शुरु भएको छ। 

पहिलो चरणमा अभिभावकसहित भेला गराएर अहिले विश्वभरमा फैलिरहेको कोरोना भाइरसपछि विद्यार्थीमा परेको प्रभावका बारेमा सहजीकरण गर्ने गरिएको छ। बालविकास केन्द्रदेखि ५ कक्षा सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर पढाइ शुरु गरिएको छ। शहरबस्तीमा नै आएर छोराछोरीको अवस्थाका बारेमा जानकारीका साथै टोलमा भएका सबै विद्यार्थीलाई भेला गराएर सहजीकरण गर्ने गरेको अभिभावक मदन रोकायाले बताए। पहिलो चरणमा टोलमा अनुगमन तथा विद्यार्थीको अवस्थाको बारेमा जानकारी गर्ने, सिकाइमा सहजीकरण र अप्ठयारोमा सहयोग गर्ने रहेको छ।

त्यस्तै कोभिड १९–ले पारेको सङ्कटका बेला निःशुल्क मनोसामाजिक परामर्श दिने गरेको शिक्षकले बताएका छन्। टोलमा पुगेर पढाइसँगै लेखनसीप सम्बन्धी कला, नियमित हात धुने बानीको विकास तथा सरसफाइ, आत्माबल बढाउने सम्बन्धी जानकारी गर्ने रहेको विद्यालयले जनाएको छ। शिक्षक नै टोलमा पुगेर विद्यार्थीलाई टोलमै पढाउने गरको यो बाजुराको पहिलो विद्यालय रहेको छ।