प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली बिहीबारबाट अवकाश पाउँदै छन् । २८ माघ ०७६ मा आईजीपी नियुक्त भएका ज्ञवालीको छाटो कार्यकाल कोरोना महामारीकै बीचमा सकियो । ‘लो प्रोफाइल’ मा बस्न रुचाउने दाबी गर्दै आएका ज्ञवालीको कार्यकाल कस्तो रह्यो, उनले गर्न चाहेको र पूरा गर्न नसकेका अधुरा कामहरू के–के रहे यसै सन्दर्भमा केशवराज जोशीले गरेको संक्षिप्त कुराकानी
तपाईं प्रहरीको जागिरे जीवनबाट अवकाशमा जाँदै हुनुहुन्छ । छोटो समय प्रहरी महानिरीक्षक हुँदा अनुभव कस्तो रह्यो ?
यो समयमा मैले नियमित रूपमा प्रहरी संगठनबाट हुने कामहरू गरे । त्यसमा म केही पछि परेको जस्तो लाग्दैन । हाम्रो मुख्य काम भनेकै अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा कायम र विपतका बेला परिचालन हुने हो । यसमा नीतिगत रूपमा केही नयाँ निर्णय गरेर कार्ययोजनाहरू बनाएर पुराना थाती रहेका कामहरूलाई सम्पन्न गर्ने कुरा मैले गर्न पाइनँ । किनभने म प्रहरी महानिरीक्षक भएको एक महिना हुँदा नहुँदै कोभिड–१९ को विश्वव्यापी संकटले हामीलाई पनि अछुतो राख्न सकेन् । त्यसैले सम्पूर्ण कुरा कोभिड–१९ मै केन्द्रित गर्नुपर्यो । नियमित क्रियाकलाप बन्द भए । अड्डा अदालत, सरकारी कार्यालय, स्कुल कलेज बन्द भए । त्यसैले हामी सीमा व्यवस्थापन, लकडाउनको पालना, कोभिडको सचेतनाका लागि प्रचार–प्रसारलगायतका कुरामा केन्द्रित हुनपर्यो । यसरी काम गर्दा अरू कामहरू थाती रहे । तथापि विषय परिस्थितिमा फ्रन्टलाइनमा बसेर, संगठनकै सदस्यहरू संक्रमित हुँदाहुँदै पनि उच्च मनोबलका साथ काम गर्यौं । यसलाई मैले ठूलो सफलता मानेको छु । यसका साथसाथै अरू सबै मानिस लकडाउनमा घरमा बसे । हामी बाहिर निस्कियौं ।
संगठनको नेतृत्वमा रहँदा यो काम गर्न सकिएन भन्ने केही छैन ?
पूरामा अधुरा रहेका अनुसन्धानका कतिपय विषयमा लाग्न पाइएन । नियमित कामलाई पनि चुस्त–दुरुस्त गतिमै भए । ऐन कानुनको अधिनमा रहेर कर्तव्य पालना गर्नुपर्छ । अरूभन्दा पनि यो विषम् परिस्थितिमा अवसरको रूपमा परिणत गरेर विचलित नभएर अग्रमोर्चामा रहेर काम गरियो ।
निर्मला पन्त हत्याकाण्डको अनुसन्धानले पूर्णता पाउन सकेन ? यसलाई कसरी लिनुहुन्छ ?
एकदम मेरो कार्यकालमा यसले पूर्णता पाउन सकेन । तर कस्तो भयो भने अहिलेको अवस्थामा अदालतले कोही मान्छेलाई पीसीआर परीक्षण नगरी नल्या भन्छ । पक्राउ गर्नुपर्ने मान्छे पनि हामी पक्राउ गर्नसक्ने अवस्थामा भएनौं । फास्ट ट्र्याकबाट मुद्दाको अनुसन्धान गर्न सकिएन । महान्याधिवक्ताको कार्यालयले पनि भरसक थुनामा नराखेरै अनुसन्धान गर्नू भन्ने निर्देशन प्राप्त भयो । यस्तोमा कुनै गाउँमा गएर मान्छे पक्राउ गर्न सक्ने अवस्था भएन । भेट्नसक्ने अवस्था भएन । त्यो कारणले निर्मला हत्याकाण्डमा प्रवेश गर्नै पाएनौं । यसमा मलाई ठूलो ‘हडल’ छ । मैले सुरुमा आउनेबित्तिकै पनि भनेको थिए यसमा मेरो निरन्तर लगाव रहन्छ । अनुसन्धानमा निरन्तर सक्रिय हुन्छौं । सम्भवतः मेरै कार्यकालमा यसको निराकरण होस् भन्ने चाहेको थिएँ । तर त्यसमा लाग्नै पाइनँ । यो मेरो मनमा सधैं बिझिरहनेछ ।
तपाईंको कार्यकाल खासै विवादित नबने पनि सरुवा–बढुवा भने विवादमा पर्यो नि ?
हेर्नुस् सरुवा–बढुवाका कुरामा मेरो हैसियत के हुन्छ । एसएसपीबाट डीआईजी बढुवा गर्ने र डीआईजीबाट एआईजी वढुवा गर्ने अधिकार कसको हो ? त्यो हेर्नुपर्छ । त्यो हेरिसकेपछि मेरो हैसियत के हो, म कहाँनेर छु भन्ने बुझ्न जरुरी छ । नेपाल सरकारले गर्ने कुरामा मैले गर्न सकिनँ । सबै कुरा बाहिर भन्न मिल्दैनँ । केही कुरामा त्योभन्दा यो राम्रो भए हुन्थ्यो भन्ने त लागेको छ । तर मलाई लागेर पनि मसँग विकल्प थिएन । तर मैले प्रयास नगरेको भने होइन । तर सरकार वाचडगका रूपमा रहेर प्रहरीलाई स्वतन्त्र छाड्दा राम्रो हुन्छ ।
यसबीच तपाईंले राजनीतिक दबाब कतिले झेल्नुपर्यो ?
दबाब कतिको आउँछ भन्ने कुराभन्दा पनि आएको दबाबलाई कसरी सन्तुलित बनाउने भन्ने हैसियत संगठन प्रमुखले राख्न सक्नुपर्छ । त्यो सकेको नकसेको कुरा बाहिर देखिहालिन्छ नि ।
यहाँको आगामी यात्रा र ३० वर्षे प्रहरी सेवालाई कसरी सम्झिनुहुन्छ ?
भोलिबाट म सक्रिय प्रहरी जीवनबाट अवकाशमा जाँदै छु । अरू जीवनबाट अवकाश लिएको होइन । ३० वर्ष प्रहरीमा सेवा गरिसकेपछि बर्दी लगाएर नहिँडे पनि ममा प्रहरी गुण रहेकै हुन्छ । म बाहिर रहेर पनि प्रहरी संगठनका लागि योगदान गर्न चाहन्छु । भोलिका योजना के हो भने सोचेको छैन । म धेरै महत्त्वाकांक्षी व्यक्ति पनि होइन ।