बझाङको जयपृथ्वीले बाढ्यो बाख्रा किन्न र खोर निर्माण गर्न ३२ लाख
2024/06/14, 5:54
 
ss

बझाङको जयपृथ्वी नगरपालिकाले नाफा कमाउने उद्देश्यले खोलिएका संस्थाहरुलाई १४ लाख २२ हजार रुपैयाँ वितरण गरेको छ।जबकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ मा वितरणमुखि खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार निर्माण हुने कार्यमा खर्च गर्नेपर्ने उल्लेख छ। तर सो नगरपालिकाले विभिन्न नाफामुलक संस्थाहरुलाई अनुदानको रुपमा १४ लाख २२ हजार रुपैयाँ वितरण गरेको हो।

वडा नम्बर ६ मा रहेको मष्टा बहुउद्देश्यीय कृषि फर्मको तारबार गर्न २ लाख, आमधारा नौरा कृषि सहकारी संस्थालाई फर्निचर, प्यापटप र घरभाडा तिर्न २ लाख ५० हजार, वडा नम्बर १० मा रहेको सुर्मादेवी मसला उद्योगमा मेसिन खरिद गर्न एक लाख र जय मष्टा दुग्ध संकलन केन्द्रमा डिफ्रिज तथा काउण्टर बनाउन चार लाख रुपैयाँ अनुदानको रुपमा उपलब्ध गराएको छ।

नाफा कमाउने उद्देश्यले खुलेका संघसंस्थालाई जयपृथ्वी नगरपालिकाले ऐन विपरीत राज्यकोषको दुरुपयोग हुने गरी रकम वितरण गरेको छ। वडा नम्बर ४ मा रहेको सानेमाझ घेरावार तथा बाख्रा फर्मको बाख्रा खोर निर्माण गर्न समेत नगरपालिकाले १० लाख रुपैयाँ अनुदानको रुपमा रकम वितरण गरेको पाइएको छ।

वडा नम्बर ११ मा रहेको लागादेब बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार, गुरासे बहुउद्देश्यीय कृषि फर्मको खोर बनाउन ३० हजार, उत्तम बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ५० हजार, वडा नम्बर ७ मा रहेको मष्टा बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार रुपैयाँ अनुदानको रुपमा रकम वितरण गरिएको छ।

त्यस्तै वडा नम्बर ६ मा रहेको वाहुनी धलपुरा पशुपन्छी फर्मको खोर निर्माण गर्न ७० हजार, आरती बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ३० हजार, निरज एण्ड आदित्य बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ५० हजार, बाबै बहुउद्देश्यीय कृषि फर्मलाई बाख्रा खरिद गर्न ३० हजार, देउपानी बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार र रामलाल जोशीलाई खोर निर्माण गर्न ७० हजार रुपैयाँ अनुदानको रुपमा रकम वितरण गरिएको छ।

यसैगरी मिस्तेन बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार, जे एन ए कृषि तथा पशुपालन फर्मको खोर सुधार गर्न ५० हजार र सुर्यदेवी महिला बहुउद्देश्यीय सहकारीलाई बाख्रा खरिद गर्न ६ लाख २५ हजार रुपैयाँ वितरण गरिएको छ। नगरपाकिाले नाफामुलक संस्था, व्यक्ति र व्यक्तिगत फर्मलाई खोर बनाउन र बाख्रा किन्न लगायत गरेर ३२ लाख ३५ हजार रुपैयाँ वितरण गरेको छ।