ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा
2024/08/21, 9:45
 
ss

कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन्। बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका हुन्।

कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ। कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइन थालेको स्थानीय भक्तप्रसाद भण्डारीले बताए। उनका अनुसार ठूलीगाड क्षेत्रमा अहिले जाल खेलाउँदा आधा घण्टाभित्रै चार पाँच किलो माछा मार्न सकिन्छ। जालमा अहिले एक घण्टामा दुई किलोदेखि २० किलोसम्मका माछा पर्ने गरेको उनको भनाइ छ।

पछिल्लो पटक लामो समयदेखि खडेरीका कारण नदीमा पानीको सतह कम हुन थालेपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति घट्दै जान थालेकामा वर्षात्को समयमा भने पानीको सतह बढेसँगै विभिन्न प्रजातिका माछा पाइने गरेको चुरे गाउँपालिका–३ का स्थानीय टेकबहादुर शाहले बताए। उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये शेर, जेब्रा, बुचे असला, सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको शाहको भनाइ छ ।