यु–१९ का ३ महिला क्रिकेटर एसपीए कलेजद्वारा पुरस्कृत 
2024/11/23, 10:08
 
ss

तीन महिला क्रिकेटर र एक प्रशिक्षकलाई एकमुस्ट एक लाख पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी सुदूरपश्चिमका तीन खेलाडी र उक्त टोलीका सहायक प्रशिक्षक लाई शुक्रवार एक कार्यक्रमका बिच पुरस्कार तथा सम्मान गरिएको हो ।

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले आफ्नो सभा हलमा सयौँ विद्याथीहरु तथा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा उनीहरूलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।  कार्यक्रममा उन्नाइस वर्षमुनि उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यु–१९ टी–२० महिला विश्वकप २०२५ का लागि एसिया क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई मलेसियामा हुने यु–१९ महिला विश्वकप २०२५ मा छनौट गराउन महत्त्वपूर्ण योगदान दिएका यु–१९ महिला टोली सदस्य मनीषा उपाध्याय कैलाली, स्नेहा महरा कैलाली, सावित्री धामी कञ्चनपुर र महिला सहायक प्रशिक्षक जानकी भट्ट बैतडीलाई उहाँहरूको ऐतिहासिक योगदानको कदर गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत जनही २५/२५ हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको एसपीए कलेका क्याम्पस प्रमुख योगराज उपाध्यायले जानकारी दिए ।

सम्मानित हुनेहरू मध्ये खेलाडी मनीषा उपाध्याय तथा सहायक प्रशिक्षक जानकी भट्ट एसपीए कलेजकै विद्यार्थी हुन । मनीषाले प्लस टु तथा जानकीले स्नातक एसपीए कलेजबाट पढेकी हुन ।

क्याम्पस प्रमुख योगराज गौतमले सुदूर पश्चिमाञ्चल एकेडेमी र खेल पर्यायवाची नै भएकाले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सँगै समग्र देशको शिर उच्च पार्ने खेलाडीहरू लाई कलेजले सधैँ हौसला दिइरहेको बताउँदै एसपीए कलेज समाजका हरेक सकारात्मक कार्यहरूमा हिस्सेदार बन्न खोजिरहेकोले प्रदेशकै गौरव गर्न लायक शैक्षिक संस्थाको रूपमा स्थापित भइरहेको बताए ।

सम्मान कार्यक्रममा बोल्दै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले खेलाडीहरूको अथक मेहनतेले नेपाल विश्वकपको यात्रामा पुग्न सफल भएको भन्दै उहाँहरूलाई थोरै भए पनि हौसला मिलोस् भनेर क्याम्पसले नगद सहित सम्मान गरेको बताए । उनले सुरुसुरुमा सपना ठुलो देख्दा मान्छेले गिज्याए पनि लगनशील भएर निरन्तर खटिरहने हो भने सफलता टाढा नरहेको बताए । अब विश्वकप छनोट मात्र नभई जित्ने गरी नै तयारी गर्नुपर्ने शाहीको भनाई थियो ।

सम्मानपछि बोल्दै खेलाडी मनीषा उपाध्यायले देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको बताउँदै आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण पढाइ अगाडी बढाउन गाह्रो भइरहेको बेला एसपीए कलेजले छात्रवृत्ति दिएर आफूलाई पढ्न सजिलो भएको बताउँदै आफ्नो कलेज सधैँ धन्यवादको पात्र भएको बताइन् ।

खेलाडी द्वय स्नेहा महरा र सावित्री धामीले नगद सहित सम्मान गरेकोमा एसपीए कलेजलाई धन्यवाद दिँदै यो सम्मानले आफूहरूको आत्मविश्वास थप बढेको बताउँदै आफूहरू अबको समय मलेसियामा हुने यु–१९ महिला विश्वकप २०२५ को तयारीमा जुट्ने बताइन् ।सहायक प्रशिक्षक जानकी भट्टले एसपीए कलेजबाट आफूले माया, हौसला, सहयोग सब थोक पाएको भन्दै एसपीए कलेजकै कारण आज यो ठाउँमा रहेको बताइन ।

यसका साथै एसपीए कलेजमै कार्यरत क्रिकेटर स्नेहा महराका बुवा राम सिंह महराले खुसी व्यक्त गर्दै छोरीलाई विश्वकप सम्म पुर्‍याउन सहयोग गर्ने प्रशिक्षक तथा सम्पूर्ण सहयोगीहरू र एसपीए कलेज परिवारलाई सम्मानको लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।