सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी एक्टिभ कोरोना संक्रमित, २९६२ जनालाई कोरोना निको भएन
2020/07/09, 5:15
 
corona

सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना भाईरसका एक्टिभ केश रहेको प्रदेश सुदूरपश्चिम बनेको छ । कुल कोरोना संक्रमितको संख्या सुदूरपश्चिमभन्दा बढी प्रदेश २ र प्रदेश नम्वर ५ मा भएपनि एक्टिभ केश भने सबैभन्दा बढि सुदूरपश्चिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका सात प्रदेशमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी एक्टिभ केश अर्थात निको नभएका कोरोना संक्रमितको संख्या बढी रहेको छ । उनले नियमित प्रेस विफ्रिङमा सुदूरपश्चिममा एक्टिभ कोरोना संक्रमित नेपालमा सबैभन्दा बढी अर्थात दुई हजार नौँ सय ६२ जना रहेको बताए ।

उनले नौँ सय ३८ जना संक्रमित भने डिस्चार्ज भईसकेको जानकारी दिए । उनका अनुसार प्रदेश १ मा एक ९६ जना, प्रदेश २ मा दुई हजार २४ जना, बाग्मती प्रदेशमा चार सय २९ जना, गण्डकी प्रदेशमा ८ सय ६२ जना, प्रदेश ५ मा एक हजार सात सय २७ जना र कर्णाली प्रदेशमा चार सय ५ जना एक्टिभ कोरोना संक्रमित छन् । सुदूरपश्चिममा भने कोरोना संक्रमितको संख्या तीन हजार ९ सय ६ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौँ सय ८ जना, अछामका ६ सय २४, बाजुराका ६ सय १५, डोटीका पाँच सय ७७, कञ्चनपुरका चार सय ४३ जना, डडेल्धुराका दुई सय ८०, बैतडीका दुई सय ७४, बझाङ एक सय ६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ ।