नेपाल प्रिमियर लिग एनपिएल मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन जोडेका हुन्। अन्तिम दुई बलमा प्रतिश जिसीलाई लगातार दुई छक्का प्रहार गरेका उनले कुल ३ चौका र ५ छक्का प्रहार गरे।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन जोड्यो। जारी प्रतियोगितामा यो अहिलेसम्मकै ठूलो स्कोर हो। सुदूरले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो। त्यसअघि सुदूरपश्चिमको ओपनर भने चल्न सकेनन्। अमृत श्रेष्ठ १ रनमा दोस्रो ओभरमै आउट भए। उनलाई इस्मत आलमले मार्टिन गप्टिलबाट क्याच गराए।
२० बलमा २३ रन जोडेका अर्का ओपनर विनोद भण्डारी पाँचौ ओभरमा पेभिलियन फर्के। चार चौका प्रहार गरेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हात बाट समातिए। अर्को ओभरमा आरिफ शेख ९ रनमा आउट भए। आरिफले बसिर अहमदको बलमा प्रहार गरेको बललाई निकोलास किर्टनले उत्कृष्ट क्याच गराएका थिए।
त्यसपछि साइफ जइब र ब्रान्डन मक्मलेनले सुदूरको इनिङ सम्हाले। अनिल खरेलबाट बोल्ड हुनुअघि जइबले १५ बलमा १४ रन प्रहार गरे। मक्मलेन २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए। उनी पनि अनिल खरेलकै बलमा १३औं ओभरमा क्याच भए।
मक्मलेन आउट भएपछि इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबीच छैटौं विकेटको क्षतिमा ४९ रनको साझेदारी भयो। तीन रन लिने क्रममा इशान पाण्डे १७औं ओभरको पाँचौ बलमा रनआउट भएका थिए। इशानले १६ बलमा २ चौका र १ छक्काको मद्दतमा २१ रन जोडे।
स्कट कुगेलेइनले ६ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए। अन्तिम ओभरमा दीपेन्द्रलाई साथ दिएका बसन्त खत्रीले नटआउट ४ रन जोडे।
बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट लिए। अस्ट्रेलियामा बसेर क्रिकेट खेलिरहेका अनिल एपिएलका लागि नेपाल आएका हुन्। उनले चार ओभरमा २६ रन खर्चिए। विराटनगरका कप्तान सन्दीप लामिछाने एपिएलको दोस्रो खेलमा पनि विकेटविहीन बने। सुदुरपश्चिमविरूद्ध उनले चार ओभरमा ३१ रन खर्चिए।