गाउँ हाँक्छन् भलमन्सा महिला
2024/12/09, 12:23
 

कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता ९भलमनसा० को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् । थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमनसाको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमनसा छन् । तीमध्ये छ जना महिला भलमनसा रहेका छन् । १७ सदस्यीय नगर भलमनसा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमनसा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।

थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमनसाले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमनसा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमनसा समितिका अध्यक्ष बुधराम चौधरी बताउछन् । केही वर्षयता महिलाले भलमनसाको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमनसा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमनसासँगै चिराकी मा समेत महिला रहेको बताइन् । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ ।


भलमनसा सीतावीले भन्नुभयो, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमनसा हुनुहुन्छ । उहाँले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्‍याएका हुन् । घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमनसा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी हुनुहुन्छ । इन्द्रादेवी भलमनसा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताइन् । उनले भने, “कुनै काम पर्‍यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमनसाले गरेको निर्णयमा सबैले साथ दिनुहुन्छ ।”


घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमनसाका रूपमा राजकुमारी चौधरी छिन् । घोडाघोडी–१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमनसा भएर काम गर्न थालेको पाँच वर्ष भयो । उनि भलमनसा भएपछि गाउँमा चिराकी पनि महिला नै छिन् । गाउँमा पुरुष भलमनसाले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उहाँलाई भलमनसामा गाउँलेले रुचाएको गीता चौधरीले बताइन् । उनले भनिन्, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमनसा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गरेकि छिन् ।” गोरखापत्रबाट