कञ्चनपुरमा अक्षयकोषको रकमबाट १४ जना विद्यार्थीले पाए छात्रवृत्ति
2025/01/05, 3:07
 
dd

कञ्चनपुरमा अक्षयकोषको रकमबाट १४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा रहेको धर्म जनता माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो। सो विद्यालयमा स्थानीय समाजसेवीका सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन्।

अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत जेहन्दार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताए। प्रत्येक वर्ष अक्षयकोषबाट व्यवस्थापन समितिको बैठक बसी छात्रवृत्तिका लागि विद्यार्थीको छनोट गरी रकम प्रदान गरिँदै आएको उनले बताए।

विद्यालयमा स्थापना गरिएका सातवटा अक्षयकोषमा ७ लाख ३७ हजार २२५ रकम रहेको छ। अक्षयकोषबाट चालु शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरिएको छ। छात्रवृत्ति पाउनेमा छात्र पाँच र छात्रा ९ जना रहेका छन्। अधिकतममा दुई हजार २५० देखि न्यूनतम एक हजार ४८० का दरले छात्रवृत्तिको रकम दिइएको छ।

विद्यालयमा स्वर्गीय रणबहादुर स्मृति छात्रवृत्ति, स्वर्गीय पदमबहादुर स्मृति छात्रवृत्ति, गणेश विमला असहाय, प्रतिभावान छात्रवृत्ति, धर्म जनता स्वर्ण छात्रवृत्ति, चन्द्रा कार्की खेलकुद छात्रवृत्ति, प्रताप द्रोपती स्मृति छात्रवृत्ति, देवबहादुर सिंह÷बिष्नादेवी सिंह गरिब जेहन्दार छात्रृत्ति अक्षयकोष स्थापना गरिएका छन्।

छात्रवृत्ति अक्षयकोषमा एक लाख २५ हजारदेखि एक लाखसम्मको रकम राखिएको छ। कक्षा १ देखि १२ सम्म गरी विद्यालयमा ६४२ विद्यार्थी अध्ययनरत छन्। २०२९ सालमा सो विद्यालय स्थापना भएको हो। विद्यालयमा २९ जना शिक्षक कार्यरत छन्। स्थापनादेखि हालसम्म विद्यालयबाट दुई हजार १५७ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएर बाहिरिएका छन्।