कविता कुँवरको उत्कृष्ट प्रदर्शनप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध ७५ रनको सहज जित दर्ता गर्यो । जितसँगै सुदूरपश्चिमले दुई खेलमा चार अंक जोडेको छ । लुम्बिनीले हारबाट प्रपितयोगिताको सुरुआत गरेको छ । पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रनमै समेटियो । लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि रेवाती धामीले तीन, आशिका महराले दुई तथा कविता कुँवर,करिश्मा थापा, ऋतु कनौजिया र जानकी थापाले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि कविता कुँवरले ३३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान दिइन् । यसैगरी मनिषा बोहराले २३ र ऋतु कनौजियाले अविजित १८ रन बनाए । लुम्बिनीका लागि सरस्वती पुनले तीन तथा सम्झना मगर र मधु डिसीले समान एक विकेट लिए ।
बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशविरुद्ध आठ विकेट जित दर्ता गर्यो ।