दशौं राष्ट्रिय खेलकुदको सुदुरपश्चिम छनोट माघ २८ गतेदेखि हुने
2025/01/22, 5:46
 
ss

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेश छनोट माघ २८ गतेदेखि हुने भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आज धनगढीमा बसेको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेश छनोटको मिति तय गरेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए । 

बैठकले माघ २८ गतेदेखि फागुन २ गतेसम्म दशौं राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा आयोजना गर्ने निर्णय गरिएको छ । बैठकले सुदुरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड फागुन २२ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरिएको छ । त्यसअघि फागुन १५ गतेसम्म सबै जिल्लाको छनोट सम्पन्न गरिसक्नु पर्ने भनिएको छ । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीको धनगढी र अत्तरिया तथा कञ्चनपुरको महेन्द्रनगरमा छनोट प्रतियोगिता आयोजना गरिनेछ । कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो खो र अत्तरियामा बुद्धिचालको छनोट प्रतियोगिता आयोजना गरिनेछ । कञ्चनपुरमा बक्सिङ, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, टेबल टेनिस, क्रिकेट बास्केटबल, कुस्ती, भारात्तोलन छनोट प्रतियोगिताका खेलहरु हुनेछन् ।