सवैभन्दा एक्टिभ कोरोना केस रहेको सुदूरपश्चिममा दैनिक संक्रमण पनि घट्दै
2020/07/10, 5:41
 
corona

शुक्रवार प्रदेशका पाँच जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा कञ्चनपुरका एक र अछामका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

काठमाडौँमा भएको परिक्षणमा डोटी र कैलालीका एक÷एक जना र दैलेखमा भएको परिक्षणमा बाजुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।  

पछिल्ला केही दिनदेखि सुदूरपश्चिममा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो पाँच दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर पनि घटेको छ भने संक्रमितको संख्या पनि कम छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार २२ गते सुदूरपश्चिममा १३ जना, २३ गते एक सय ११ जना, २४ गते ६९ जना र २५ गते ३५ जनामा कोरोना पुष्टि भएको छ । असारको दोस्रो सातामा सुदूरपश्चिममा सबैभन्दा बढी कोरोना संक्रमति भेटिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो ।

शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ११ पुगेको छ । देशभरी सबैभन्दा बढी एक्टिभ कोरोना संक्रमित पनि सुदूरपश्चिममै रहेका छन । संक्रमित मध्ये नौ सय ७२ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।