अर्जुन ट्रफीको सेमिफाईनल समिकरण पुरा
अत्तरिया समुह विजेता बन्दा बुटबल पनि क्वालिफायर 
2025/02/07, 7:25
 
dd

क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाईनल पुरा भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेल सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको सातौं दिन भएको समुह बी अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरियाले न्यु होराईजन बुटवललाई ७८ रनले हराउँदै अत्तरिया समुह विजेता बनेसँगै अन्तिम चार पुग्ने टीमहरुको टुङगो लागेको हो ।

समुह बी मा लगातार तीन जित हासिल गर्दै सिवाईसी अत्तरिया समुह विजेता बनेको छ ।  अत्तरियालाई जिताउनका लागि कप्तान भीम सार्की र विवेक यादवको अर्धशतकीय पारी महत्वपुर्ण रह्यो । हारका बाबजुत पनि बुटवल पनि सेमिफाईनलका लागि क्वालिफायर भएको छ । समान दुई अंक रहेका दशरथ चन्द एकेडेमी बैतडी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौलाई रनरेटमा पछाडी पार्दै बुटवल अन्तिम चारमा पुगेको हो । सो समुहमा समान दुई अंक रहेका दशरथ चन्द एकेडेमी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं रनरेटमा पछाडी रहदैं प्रतियोगितबाट बाहिरिएका छन् । 

समुह ए बाट फेण्ड्स युथ क्लब समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो । तीन खेलमा दुईमा जित हात पारेका डडेल्धुरा र डिसिए धनगढीको समान चार अंक रहेपनि रनरेटमा माथि रहदैं डडेल्धुरा समुह विजेता बन्दा डिसिए धनगढी उपविजेता बनेर सेमिफाईनल पुगेको छ । समुह ए मा समान दुई अंक रहेका घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तेस्रो र चौथो स्थानमा रहदैं प्रतियोगितबाट बाहिरिएका छन् । 

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ८८ रन बनायो । अत्तरियालाई प्रतियोगिताको सर्वाधिक रन बनाउने क्रममा कप्तान भीम सार्की र विवेक यादवले अर्धतशकीय पारी खेले । भीमले ३९ बलमा ५८ रन बनाए । प्रतियोगितामा भीम दुई अर्धशतक बनाउने पहिलो खेलाडी पनि हुन् । विवेकले ३८ बलमा ५१ रन बनाए । उनीहरु बीचमा चौथो विकेटका लागि ७७ रनको साझेदारी पनि रह्यो । यस्तै भीमले तेस्रो विकेटका लागि शंकर रानासँग पनि ५१ रनको साझेदारी गरे । शंकरले २० बलमा ३१ रन बनाए । कप्तान सन्तोष कार्कीले २३ रन बनाए । बुटवलका लागि निर्मल गुरुङले दुई विकेट लिए । वीर मगर, विप्रोसन केसी र तुलवहादुर थापाले एक एक विकेट लिए । 

एक सय ८९ रनको लक्ष्य बोकेर मैदान उत्र्रिएको न्यु होराईजन बुटवलले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय १० रन मात्रै बनाउन सक्यो । बुटवलका लागि प्रतिक श्रेष्ठले सर्वाधिक १८ रन बनाए । टीमका लागि तुलवहादुर थापाले १७ रन, बीरवहादुर मगरले १५ रन र निश्चल ज्ञवालीले १२ रन बनाए । अत्तरियाको सानदार जितमा विवेक यादव, साहव आलम र रसिद खानले समान दुई विकेट लिए । कमल गुप्ता र दिपेश कँडेलले एक एक विकेट लिए । खेलमा ५१ रनको अर्धशतकीय पारी खेल्दै दुई विकेट लिएका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए । 

प्रतियोगिता अन्तर्गत भोलीदेखि सेमिफाईनलका खेलहरु हुनेछन् । भोली हुने पहिले सेमिफाईनलमा समुह एक को विजेता फेण्ड्स युथ क्लब डडेल्धुरा र समुह बी को उपविजेता न्यु होराईजन बुटवल बीच प्रतिस्पर्धा हुनेछ । पर्सि हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाईनल प्रवेशका लागि खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।