दशौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश छनोट आजदेखि 
परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले उद्घाटन गर्ने 
2025/02/09, 10:06
 
ss

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आजदेखि सुरु हुदैछ । आज दिउँसो छनोट प्रतियोगिताको परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाबाट उद्घाटन हुने भएको छ । दिउँसो ३ बजे धनगढी रंगशालामा छनोट प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम रहेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । आज छनोट प्रतियोगिताको उद्घाटन भएपनि छनोटका लागि प्रतियोगिताहरु भने भोलीदेखि सुरु हुनेछन् ।  

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । भने ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल हुने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । 

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुने छ । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरु हुनेछन् । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेलहरु हुनेछन । छनोट प्रतियोगितामा अछामबाट १४१, बझाङबाट २६३, बैतडीबाट २०२, डोटीबाट २९४, बाजुराबाट २३९, दार्चुलाबाट २३६ डडेल्धुराबाट २४३ कैलालीबाट ४३१ र कञ्चनपुरबाट ४२३ जना खेलाडी गरी २ हजार ४ सय ६३ जनाले प्रतियोगितामा भाग लिदैछन् । 

३१ मध्ये १६ वटा खेलको प्रतियोगिता हुने छ । छनोट हुने खेलमा बास्केट बल महिला, कुस्ती, आईटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रब्बी, भारत्तोलन, हेन्डबल महिला रहेका छन् । १० वटा खेलका खेलाडीले दशौँ राष्ट्रिय खेलकुदमा हक्की, आर्चरी, साइक्लिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, सेपाक ताक्क्रो, फेन्सिङ, लङ टेनिस, जिम्नास्टिक खेलका खेलाडीले सहजै दशौँ राष्ट्रिय खेलकुदमा सहभागि जनाउन पाउने छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल ३३२, द्वितीय मेडल ३२०, तृतीय मेडल ४५६ गरी १ हजार १९८ वटा मेडल रहेको छ ।