
दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शिर्ष स्थानमा पुगेको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा भईरहेको छनोट प्रतियोगिता अन्तर्गत हालसम्म नतिजा आएका खेलहरुमा कैलाली प्रथम स्थानमा रहन सफल भएको हो ।

हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङगो लागेको छ । हालसम्म सम्पन्न प्रदेश स्तरीय छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा एक सय ४२ वटा पदक प्राप्त गरेको छ । जसमा ७५ वटा स्वर्ण पदक रहेका छन् । यस्तै ४६ वटा रजत पदक र २१ वटा कास्य पदक कैलालीले जितेको छ । अंक तालिकाको दोस्रो स्थानमा कञ्चनपुर रहेको छ । कञ्चनपुरले ६४ वटा स्वर्ण पदक, ४२ वटा रजत पदक र २४ वटा कास्य पदक गरी एक सय ३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा डडेल्धुरा रहेको छ । डडेल्धुराले ९ स्वर्ण, १० रजत र २४ कास्य गरी ४३ पदक प्राप्त गरेको छ ।
सुदुरपश्चिम प्रदेशका ९ जिल्लाले सहभागीता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले ९ स्वर्ण, ८ रजत र १० कास्य गरी २७ पदक पाएको छ । पाचौं स्थानमा रहेको बाजुराले ६ स्वर्ण, ६ रजत र १८ कास्य गरी ३० पदक पाएको छ । छैठौं स्थानमा रहको दार्चुलाले ३ स्वर्ण, ९ रजत र २२ कास्य गरी ३६ पदक पाएको छ । सातौं स्थानको बैतडीले ३ स्वर्ण, ९ रजत र ११ कास्य गरी २३ पदक प्राप्त गरेको छ । आठौं स्थानमा रहेको डोटीले दुई स्वर्ण, ७ रजत र २० कास्य गरी २९ पदक पाएको छ । अंक तालिकाको पुछारमा अछाम रहेको छ । अछामले एक स्वर्ण दुई रजत र ५ कास्य गरी ८ पदक जितेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडीले सहभागी जनाएका थिए । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भईरहेकोमा अधिकांश खेलका खेलाडीहरुको छनोट सकिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए ।