भारतबाट फर्किने नेपालीसँग भारतीय सुरक्षाकर्मी पैसा असुली गर्दै 
2025/05/12, 11:43
 
ss

भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीले पैसा असुली गर्ने गरेको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका—कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमार्फत फर्किँदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीबाट असहज र अपमानजनक व्यवहार सहन बाध्य भएको बताएका हुन् ।

गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका बम थापाले भारतीय सुरक्षाकर्मीहरूले ‘अनावश्यक झन्झट’ सृजना गरेर जबरजस्ती पैसा माग्ने गरेको बताए । ‘नाकामा सुरक्षाकर्मीहरूले पहिला चेकजाँच गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्’ थापाले भने, ‘हामीजस्ता दैनिक श्रमिकबाट यसरी पैसा असुली गर्दा खाली हात घर फर्किंनुपरेको छ ।’

आफ्नो देश फर्किनै कठिन बनाउने गरी भारतीय सुरक्षाकर्मीको व्यवहारबारे नेपाल सरकारले कूटनीतिक पहलबाट सहज बनाउन नाकामा भेटिएका नेपालीहरूको भनाई छ । भारतबाट फर्कँदै गरेका नेपालीहरूले अपमान होइन, सम्मानका साथ घर फर्किन पाउनुपर्ने उनीहरूको भनाई रहेको छ ।

भारत–पाकिस्तानबिच बढ्दो द्वन्द्वले गर्दा दुवै देशका सुरक्षाकर्मीहरू सीमामा कडाइ गरिरहेका छन् । तर सोही कडाइको नाममा नेपालीहरूलाई लक्षित गरी आर्थिक शोषण भइरहेको गुनासो बढ्दो छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार भारतसँग जोडिएका सुदूरपश्चिमका नाकाहरूमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । विशेष गरी नयाँ अनुहार वा शङ्कास्पद देखिएका व्यक्तिहरूमाथि थप निगरानी गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार पनि सीमा क्षेत्रमा विकसित परिस्थितिलाई लिएर सतर्क बनेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूसँग छलफल गरी सिमाना क्षेत्रमा थप सतर्कता र सहजीकरण गर्न निर्देशन दिएका छन् ।